गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घटनास्थलमै पाँच जनाको मृत्यु भएको र उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बागले, वालिङ–१० का शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्
घटनास्थलमै मृत्यु हुनेमध्ये एक जनाको विवरण थप पुष्टि हुन बाँकी छ ।

त्यस्तै, दुर्घटनामा घाइते भएकी निता बगालेको उपचारका क्रममा कालीगण्डकी सामुदायिक अस्पताल मिर्मी, स्याङ्जामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ ।
गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।
प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार, दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ । घटनामा परी घाइते भएका तथा मृतकको विवरण थप पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।







































