पोखराको ट्राफिक सुधार्ने कि समस्यामै रमाउने?

त्यो बेला म स्कुल पढाउने काम भर्खरै छोडेको थिएँ। अब के गर्ने, कहाँ जाने, जीवनलाई कुन दिशातिर लैजाने भन्ने कुराले मभित्र ठूलो छटपटी भइरहेको थियो। केही नयाँ गर्नुपर्छ भन्ने सोच त थियो, तर के गर्ने भन्ने स्पष्ट थिएन। त्यही सोच र अन्योलबीच अचानक एउटा विचार आयो—काठमाडौं गएर केही काम सुरु गर्नुपर्छ।
मैले श्रीमती (इशारा)लाई भनेँ, “काठमाडौं जाऊँ। उतै गएर केही गरौँला।” केही बेर घोत्लिएपछि उनले भनिन्, “म जान्नँ।” मैले सोधेँ, “किन?” उनी केही बेर मौन भइन्। त्यसपछि बिस्तारै उत्तर दिइन्, “किनभने मलाई पोखरा अति मनपर्छ। मलाई यही सहरमा बसिरहन मन लाग्छ, यहीँ बाँचिरहन मन लाग्छ र यही सहरलाई हेरिरहन मन लाग्छ।”
उनको त्यो बेलाको जवाफले अहिले आएर मलाई फेरि सोच्न बाध्य बनायो। साँच्चै, पोखरा केवल बसोबास गर्ने ठाउँ मात्र होइन, अनुभूति गर्ने ठाउँ पनि हो। संसारकै सुन्दर सहर भनेर गर्वका साथ नाम लिन सकिने सहर हो पोखरा।
यहाँको प्राकृतिक सौन्दर्य, तालतलैया, हिमाल, हरियाली र जीवनशैलीले मानिसलाई मोहनी लगाउँछन्। पोखराप्रतिको यही मोहले देशका विभिन्न ठाउँबाट मानिसहरूलाई यहाँ बसाइँ सर्न आकर्षित गरिरहेको छ। सहर बढ्दै छ, जनसङ्ख्या बढ्दै छ, व्यापार व्यवसाय विस्तार हुँदै छन् र सडकमा सवारीसाधनको चाप पनि दिनानुदिन बढिरहेको छ।
जब म कुनै सहरको अलि अग्लो ठाउँमा बसेर तल नियाल्छु, त्यहाँका सडक र निरन्तर गुडिरहेका सवारीसाधनहरू देख्दा मलाई एउटा अनौठो अनुभूति हुन्छ। लाग्छ—त्यो सहर सास फेरिरहेको छ, चलायमान छ र आफूलाई निरन्तर अगाडि बढाइरहेको छ। अर्थात्, सहरको सुन्दर र व्यवस्थित ट्राफिकले सहर जीवन्त रहेको आभास गराउँछ।
तर के पोखराको ट्राफिक पनि त्यस्तै सुन्दर, व्यवस्थित र चुस्तदुरुस्त छ त? के पोखराको ट्राफिक व्यवस्थापनले पोखराको सुन्दरतामा चार चाँद थपेको छ? के यथार्थमा अवस्था त्यस्तै छ त?
सहरको विकास भनेको भवन र सडक थपिनु मात्र होइन। मानिसको दैनिक जीवन सहज हुनु, आवतजावत व्यवस्थित हुनु र सार्वजनिक स्थानहरू सुरक्षित तथा सफा रहनु पनि विकासकै महत्त्वपूर्ण पक्ष हुन्। ट्राफिक व्यवस्थापन राम्रो भएन भने सुन्दर सहरको सौन्दर्यसमेत अस्तव्यस्तताले छोपिदिन्छ। त्यसैले पोखराको बढ्दो सहरीकरणसँगै ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न जरुरी छ।
ट्राफिक व्यवस्थापन भनेको केवल ट्राफिक प्रहरीको जिम्मेवारी होइन
मेरा मित्र शिवराम भण्डारी दिल्ली जानुभएको रहेछ। त्यहाँका मुख्य चोकहरूमा पैदलयात्रीले जथाभावी बाटो नकाटून् भनेर अग्ला फलामका पाइपहरू राखिएको देख्नुभएछ।
उहाँले जिज्ञासावश सोध्नुभएछ, “यति अग्ला फलामका पाइप राख्नैपर्ने हो र?”
उताबाट जवाफ आएछ, “यी अग्ला फलामका पाइप त नाघेर जान्छन्, तपाईं कुरा गर्नुहुन्छ!”
त्यसको केही वर्षपछि म आफैँ दिल्ली गएको थिएँ। दिल्लीको चोकमा पुग्दा मेरा मित्र शिवरामजीको भनाइ झलझली याद आयो। अनि म चोकतिर गएर हेर्न थालेँ।
त्यहाँ पुगेर हेर्दा कुरा साँच्चै रहेछ। चोकमा अग्ला फलामका पाइपहरू राखिएका थिए। तर ती पाइपहरूबीच मानिसहरू छिर्न मिल्ने गरी खाली ठाउँसमेत बनाइसकेका रहेछन्।
सायद अहिलेको दिल्ली निकै व्यवस्थित भइसकेको होला। त्यसपछि भने म दिल्ली पुग्न सकेको छैन। यसबाट बुझिने कुरा के हो भने नियम–कानुन र अग्लो पर्खालले मात्र हुँदो रहेनछ; कानुन र नियम पालना गर्ने चेतनाको विकास पनि गर्नुपर्दो रहेछ।
अब पोखराका सडकतिर नजर लगाउने हो भने, जेब्रा क्रसिङमा पैदलयात्रीलाई लखेट्दै गाडीहरू दगुरिरहेका हुन्छन् भने जेब्रा क्रसिङ नै नभएका ठाउँमा मानिसहरू ज्यानको बाजी लगाएर बाटो काटिरहेका हुन्छन्।
अहिले न्युरोडलगायत पोखराका सडकमा डिभाइडर राख्ने चलन बढेको छ। तर ती डिभाइडरमा मानिसहरू एक खुट्टा उचाल्दै बाटो काटिरहेको दृश्य देख्दा लाग्छ, ती पैदलयात्रीलाई सहज रूपमा बाटो काट्न दिनुभन्दा उनीहरूको बाटो छेक्नकै लागि बनाइएका हुन्!
अझ रमाइलो त के छ भने, नजिकै जेब्रा क्रसिङसहित बाटो काट्ने ठाउँ हुँदाहुँदै पनि त्यसतर्फ ध्यान नदिई डिभाइडरलाई सुपरम्यानले जस्तै एक खुट्टा उचाल्दै पार गर्ने पैदलयात्रीहरू पनि कम छैनन्।
यस्तो दृश्य देख्दा लाग्छ, पोखराका सडकमा ट्राफिक व्यवस्थापन मात्र होइन, पैदलयात्री र सवारी चालक दुवैलाई सडक प्रयोग गर्ने सभ्यता सिकाउनु पनि उत्तिकै आवश्यक छ।
मैले फोनबाट सम्बन्धित निकायसँग बुझ्दा सिङ्गो कास्की जिल्लामा जम्मा ९२ जना ट्राफिक प्रहरी रहेको जानकारी पाएको थिएँ। यति सीमित जनशक्तिले बढ्दो पोखराको सवारी चाप व्यवस्थापन गर्नु आफैँमा चुनौतीपूर्ण काम हो। सीमित जनशक्तिले मात्र सहरको सम्पूर्ण ट्राफिक व्यवस्थापन गर्न कठिन हुन्छ। त्यसैले ट्राफिक प्रहरीको जनशक्ति र क्षमताको उचित व्यवस्थापनसँगै महानगरपालिका, यातायात व्यवसायी, स्थानीय व्यवसायी र आम नागरिकले पनि आफ्नो जिम्मेवारी पूरा गर्न आवश्यक छ।
समस्या समाधान गर्न संरचना बनाउनु मात्र पर्याप्त हुँदैन, त्यसको सही उपयोग हुने गरी योजना बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
ट्राफिक व्यवस्थापनमा पनि यही कुरा लागू हुन्छ। सडकमा बार लगाउने, निषेधका बोर्ड राख्ने वा नियम बनाउने मात्र पर्याप्त हुँदैन। मानिसले ती नियम पालना गर्न सक्ने वातावरण बनाउनु र नियम उल्लङ्घन हुन सक्ने अवस्थालाई नै कम गर्नु आवश्यक हुन्छ।
यो महानगरपालिका, ट्राफिक प्रहरी, यातायात व्यवसायी, स्थानीय व्यवसायी र आम नागरिक सबैको साझा जिम्मेवारी हो। महानगरले पूर्वाधार र नीति बनाउने, ट्राफिक प्रहरीले त्यसको कार्यान्वयन र नियमन गर्ने, व्यवसायी तथा स्थानीयले तोकिएको नियम पालना गर्ने र नागरिकले पनि आफ्नो व्यवहार परिवर्तन गर्ने हो भने मात्र ट्राफिक व्यवस्थापन प्रभावकारी बन्न सक्छ।
पोखरा महानगरपालिकाले यसअघि पनि पोखराको मुख्य सहरभित्र सवारीसाधन पार्किङ व्यवस्थापनका विभिन्न प्रयास गर्दै आएको छ। तर कतिपय अवस्थामा स्थानीय तथा व्यवसायीहरूको अपेक्षित सहयोगको अभावका कारण त्यस्ता प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन्।
त्यसैले अब केवल नियम बनाउने होइन, नियम बनाउँदा सम्बन्धित पक्षलाई सहभागी गराउने र कार्यान्वयनमा पनि उनीहरूको सहकार्य सुनिश्चित गर्ने आवश्यकता छ।
हरेक देशले आफ्नो भौगोलिक, बौद्धिक र आर्थिक अवस्था तथा आवश्यकताअनुसार ट्राफिक व्यवस्थापनका उपाय अपनाएका होलान्। पोखराको हकमा पनि अन्य सहरका अनुभवबाट सिक्दै यहाँको अवस्थासुहाउँदो व्यवस्था बनाउन सकिन्छ। यसका लागि जर्मनीको ब्रेमेनलगायतका सहरमा प्रयोग गरिएको Traffic Cell Model को अध्ययन उपयोगी हुन सक्छ।
पोखराको Traffic Cell Model : पृथ्वीचोकबाटै सुरु गर्न सकिन्छ
Traffic Cell Model भनेको सहरको निश्चित क्षेत्रभित्र अनावश्यक सवारी आवागमन नियन्त्रण गर्ने, प्रवेश तथा निकास मार्ग व्यवस्थित गर्ने र पैदलयात्रीलाई सहज हुने वातावरण बनाउने अवधारणा हो। यसको उद्देश्य सवारीसाधनलाई पूर्ण रूपमा रोक्नु होइन, सहरभित्रको आवागमनलाई योजनाबद्ध बनाउनु हो।
यस अवधारणाअनुसार सहरका व्यस्त क्षेत्रलाई निश्चित आवागमन क्षेत्रका रूपमा व्यवस्थित गर्न सकिन्छ। कुन सवारीसाधन कहाँबाट प्रवेश गर्ने, कहाँबाट बाहिरिने, कुन सडक प्रयोग गर्ने र पार्किङ कहाँ गर्ने भन्ने कुरा स्पष्ट बनाउन सकिन्छ। तर यस्तो व्यवस्था हरेक सहरमा एउटै किसिमले लागू हुँदैन। आफ्नो देशको भौगोलिक, आर्थिक र सामाजिक अवस्था तथा सडकको क्षमताअनुसार त्यसलाई अनुकूल बनाउनुपर्छ।
पोखराको भौगोलिक बनावट, सडकको अवस्था र व्यापारिक गतिविधि अन्य सहरभन्दा फरक छन्। त्यसैले त्यहाँको मोडल जस्ताको तस्तै लागू गर्नुभन्दा पोखराको आवश्यकताअनुसार अध्ययन गरेर उपयुक्त व्यवस्था बनाउनुपर्छ।
मेरो विचारमा, यस्तो व्यवस्थाको परीक्षण पोखराको पृथ्वीचोकबाटै सुरु गर्न सकिन्छ।
पृथ्वीचोक पोखराको एउटा महत्त्वपूर्ण चोक हो। यहाँबाट पोखराका विभिन्न ठाउँमा जाने सवारीसाधन छुट्छन्। लामो दूरीका बस, सार्वजनिक यातायात र निजी सवारीसाधनको आवागमन पनि उत्तिकै हुन्छ। त्यसैले यहाँको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सकियो भने त्यसले पोखराको समग्र यातायात व्यवस्थापनमा पनि सहयोग पुर्याउन सक्छ।
पोखराको ट्राफिक व्यवस्थापनका लागि पृथ्वीचोकको बसपार्कको उपयोगबारे पनि विचार गर्न आवश्यक छ। पृथ्वीचोकको बसपार्कलाई पोखरा सहरभित्र चल्ने सार्वजनिक यातायातका लागि आन्तरिक बसपार्कका रूपमा प्रयोग गर्नुपर्छ। पोखराबाट बाहिर जाने र बाहिरबाट पोखरा आउने लामो दूरीका बसहरूका लागि भने सहरभन्दा केही बाहिर व्यवस्थित बसपार्क निर्माण गर्नुपर्छ।
यसरी आन्तरिक र लामो दूरीका बसपार्कलाई छुट्टाछुट्टै रूपमा व्यवस्थापन गर्न सकेमा सहरको मुख्य क्षेत्रमा हुने सवारी चाप कम गर्न र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सहयोग पुग्न सक्छ।
यसका लागि पृथ्वीचोकको बसपार्कको वर्तमान अवस्था, त्यहाँबाट सञ्चालन गर्न सकिने आन्तरिक यातायात सेवा, लामो दूरीका बसको आवागमन र सहरबाहिर बसपार्क निर्माण गर्न सकिने सम्भावित स्थानबारे अध्ययन गर्नुपर्छ। नयाँ बसपार्क निर्माण गर्दा यात्रुहरूलाई त्यहाँसम्म पुग्न सहज हुने यातायातको व्यवस्था पनि सुनिश्चित गर्नुपर्छ।
पृथ्वीचोकमा बसपार्कसमेत रहेकाले यहाँबाटै परीक्षणका रूपमा नयाँ व्यवस्था सुरु गर्न सकिन्छ। सुरुमा त्यहाँको सवारी चाप, बसहरूको आवागमन, पार्किङको अवस्था र यात्रुहरूको चहलपहललाई राम्ररी अध्ययन गर्नुपर्छ। पोखरा सहरभित्र चल्ने बस र पोखराबाहिर जाने लामो दूरीका बसलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि विचार गर्नुपर्छ।
त्यसपछि पृथ्वीचोकमा सवारीसाधन कहाँबाट प्रवेश गर्ने, कहाँबाट बाहिरिने, कहाँ पार्किङ गर्ने र कुन बाटो प्रयोग गर्दा सहज हुन्छ भन्ने कुराको योजना बनाउन सकिन्छ। पार्किङ खोज्दै सडकमा घुमिरहनुपर्ने अवस्थालाई कम गर्न पार्किङ उपलब्ध भएका ठाउँको जानकारी दिने व्यवस्था पनि गर्न सकिन्छ।
यसरी पहिलो चरणमा पृथ्वीचोकलाई परीक्षणका रूपमा लिएर काम गर्दा के गर्दा ट्राफिक व्यवस्थापन सहज हुन्छ र कहाँ समस्या आउँछ भन्ने कुरा अनुभव गर्न सकिन्छ। परीक्षणबाट राम्रो परिणाम प्राप्त भएमा आवश्यक सुधार गर्दै पोखराका अन्य व्यस्त चोक र बजार क्षेत्रमा पनि यही व्यवस्था विस्तार गर्न सकिन्छ।
योजना बनाउने तर कार्यान्वयन गर्न नसक्ने अवस्थाभन्दा सानो क्षेत्रबाट सुरु गरेर त्यसको परिणाम हेर्दै अगाडि बढ्नु राम्रो हुन्छ। आखिर उद्देश्य नयाँ योजना बनाउनु मात्र होइन, पोखरेलीले दैनिक आवतजावत गर्दा भोग्नुपरेको समस्या कम गर्नु र हाम्रो सहरलाई अझ व्यवस्थित बनाउनु हो।
पार्किङ व्यवस्थापनलाई ट्राफिक योजनाकै अङ्ग बनाउनुपर्छ
पोखराको मुख्य बजार क्षेत्रको अर्को महत्त्वपूर्ण समस्या पार्किङ हो। पार्किङको उचित व्यवस्था नहुँदा सडक किनारमा सवारीसाधन राख्ने प्रवृत्ति बढ्छ र त्यसले आवागमनमा अवरोध सिर्जना गर्छ।
पोखरा महानगरपालिकाले विगतमा पनि मुख्य बजार क्षेत्रमा पार्किङ व्यवस्थापनका प्रयास गरेको छ। तर पर्याप्त स्थानीय तथा व्यवसायीको सहकार्य नहुँदा यस्ता प्रयासले अपेक्षित परिणाम दिन सकेका छैनन्। पार्किङ व्यवस्थापन महानगरपालिकाको एक्लो प्रयासबाट मात्र सम्भव हुँदैन।
मुख्य बजार क्षेत्रमा प्रवेश गर्ने स्थानमै कुन दिशामा पार्किङ उपलब्ध छ भन्ने जानकारी दिने व्यवस्था गर्न सकिन्छ। पार्किङस्थलको अवस्थाबारे सूचना दिन सकिएमा चालकले सडकमा घुमिरहनुपर्ने अवस्था कम हुन सक्छ। पार्किङलाई ट्राफिक सेलको योजनाभित्रै समेटेर व्यवस्थापन गर्नु आवश्यक छ।
‘No Parking’ लेखिएका बोर्ड मात्र राख्नु समाधान होइन; ‘Parking Available Here’ भनेर उपयुक्त पार्किङस्थलको जानकारी दिन सक्नु पनि उत्तिकै महत्त्वपूर्ण हो।
यसका लागि महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीय व्यवसायी र अन्य सरोकारवालाबीच समन्वय आवश्यक छ। पार्किङस्थलको व्यवस्थापन, सूचना प्रणाली र नियम कार्यान्वयनलाई एकीकृत रूपमा अगाडि बढाउन सके मात्र यसको परिणाम देखिन सक्छ।
ब्रेमेनको Traffic Cell व्यवस्था कति सफल भयो?
जर्मनीको ब्रेमेन सहरको अनुभव पोखराका लागि उपयोगी उदाहरण हुन सक्छ। सन् १९६० को दशकमा ब्रेमेनको ऐतिहासिक सहर केन्द्रलाई चारवटा ट्राफिक सेलमा विभाजन गरिएको थियो। यसको उद्देश्य बजार क्षेत्रभित्र अनावश्यक सवारी आवागमन नियन्त्रण गर्नु र पैदलयात्रीका लागि वातावरण सहज बनाउनु थियो।
१. अनावश्यक सवारी आवागमन नियन्त्रण गर्ने प्रयास
ब्रेमेनमा एउटा ट्राफिक सेलबाट अर्को सेलमा हुँदै सहरको केन्द्र पार गर्ने सवारीसाधनको आवागमन नियन्त्रण गरिएको थियो। निश्चित प्रवेश तथा निकास मार्ग, एकतर्फी सडक र पैदलयात्री क्षेत्रजस्ता उपाय प्रयोग गरिएका थिए। यसले बजार क्षेत्रभित्र जथाभावी सवारी आवागमन हुन नदिने व्यवस्था बनाउन सहयोग गर्यो।
२. व्यापार व्यवसायमा नकारात्मक असर परेको स्पष्ट प्रमाण भेटिँदैन
सन् १९७२ को OECD प्रकाशनमा ब्रेमेनजस्ता सहरमा ट्राफिक सेलको अवधारणाबारे चर्चा गरिएको छ। त्यसमा सहरको केन्द्रमा व्यापारिक तथा आर्थिक गतिविधि कायम रहेको उल्लेख छ। तर व्यापारको विकास हुनुको कारण ट्राफिक सेल नै थियो भनेर निश्चित निष्कर्ष निकाल्न भने मिल्दैन।
यसबाट सिक्नुपर्ने कुरा के हो भने ट्राफिक व्यवस्थापन गर्दा व्यापार व्यवसायलाई अवरोध पुर्याउनेभन्दा मानिसलाई सहज रूपमा बजारसम्म पुग्ने वातावरण बनाउनुपर्छ।
३. अन्य सहरमा पनि उपयोगी अवधारणाका रूपमा हेरियो
ब्रेमेन र स्विडेनको गोथेनबर्गजस्ता सहरमा ट्राफिक सेलको अवधारणा अनावश्यक सवारी आवागमन सीमित गर्न र पैदलयात्रीको वातावरण सुधार गर्न प्रयोग गरिएको थियो। तर यस्तो व्यवस्था सफल हुन आसपासका सडकमा पर्याप्त क्षमता र समग्र यातायात योजना आवश्यक हुने कुरा पनि उल्लेख गरिएको छ।
ब्रेमेनको अनुभवले पोखरामा पनि यही अवधारणा जस्ताको तस्तै लागू गर्नुपर्छ भन्ने होइन। पोखराको भौगोलिक बनावट, सडकको अवस्था, व्यापारिक गतिविधि र सवारीसाधनको चाप फरक छन्। त्यसैले यहाँको अवस्थाअनुसार अध्ययन गरेर उपयुक्त उपाय अपनाउनु बुद्धिमानी हुनेछ।
पोखराका लागि अबको बाटो
पोखरा महानगरपालिकाले पोखराका सडकमा चल्ने सार्वजनिक यातायातका साधनदेखि निजी सवारीसाधनसम्मको तथ्याङ्क सङ्कलन गर्नुपर्छ। पोखरामा दैनिक कति सार्वजनिक बस, माइक्रोबस, ट्याक्सी, मोटरसाइकल, निजी कार तथा अन्य सवारीसाधन चल्छन्? कुन सडकमा कति सवारीसाधन गुड्छन्? कुन समयमा सवारी चाप बढी हुन्छ? कति सवारीसाधन पोखराबाहिरबाट आउँछन् र कति पोखराभित्रै चल्छन्? यस्ता विषयमा विस्तृत तथ्याङ्क सङ्कलन गर्न आवश्यक छ।
तथ्याङ्क सङ्कलन गर्दा सवारीसाधनको सङ्ख्या मात्र होइन, तिनको आवागमनको समय, मुख्य गन्तव्य, प्रयोग हुने सडक र पार्किङको अवस्थासमेत अध्ययन गर्नुपर्छ। यसबाट कुन सडकमा कति चाप छ, कुन समयमा समस्या बढी हुन्छ र कुन क्षेत्रमा सुधार आवश्यक छ भन्ने कुरा स्पष्ट हुन्छ।
तथ्याङ्कका आधारमा पोखराको सडक क्षमताले कति सवारीसाधन धान्न सक्छ र ट्राफिक व्यवस्थापनका लागि कहाँ कस्तो व्यवस्था आवश्यक छ भन्ने कुरा पहिचान गर्न सकिन्छ। अनुमानका भरमा योजना बनाउनुभन्दा वास्तविक तथ्याङ्कका आधारमा योजना बनाउनु प्रभावकारी हुन्छ। त्यसैले पोखरा महानगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरी सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्ने र त्यसका आधारमा दीर्घकालीन ट्राफिक व्यवस्थापन योजना तयार गर्ने कामलाई प्राथमिकता दिनुपर्छ।
त्यसपछि पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा र न्युरोडजस्ता व्यस्त क्षेत्रलाई समेटेर आवश्यकताअनुसार ट्राफिक सेलको परीक्षण गर्न सकिन्छ।
यस्तो योजना बनाउँदा प्रवेश तथा निकास मार्ग स्पष्ट गर्ने, वैकल्पिक सडकको व्यवस्था गर्ने, पार्किङस्थलको सूचना दिने र पैदलयात्रीलाई सुरक्षित बाटो उपलब्ध गराउने कुरालाई प्राथमिकता दिनुपर्छ। योजना बनाउने काम महानगरपालिकाले मात्र गर्ने र कार्यान्वयनको सम्पूर्ण जिम्मेवारी ट्राफिक प्रहरीलाई छोड्ने प्रवृत्तिबाट पनि बाहिर निस्कनुपर्छ।
महानगरपालिका, ट्राफिक प्रहरी, स्थानीय व्यवसायी, यातायात व्यवसायी र सर्वसाधारण सबैको सहकार्य आवश्यक छ। नियम बनाउनु जति महत्त्वपूर्ण छ, त्यसलाई व्यवहारमा उतार्न सकिने अवस्था सिर्जना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
पोखरा हाम्रो सुन्दर सहर हो। यसको सौन्दर्य हिमाल, ताल र हरियालीमा मात्र सीमित छैन; यहाँको सडक, सार्वजनिक स्थान, पैदलयात्रीको सुरक्षा र दैनिक जीवनको सहजतामा पनि देखिनुपर्छ। सहरको विकाससँगै ट्राफिक व्यवस्थापनलाई अगाडि बढाउन सकियो भने पोखरा अझ व्यवस्थित, सुन्दर र बस्नयोग्य बन्न सक्छ।
पोखरालाई माया गर्नु भनेको यसको प्राकृतिक सुन्दरताको प्रशंसा गर्नु मात्र होइन, यसलाई व्यवस्थित र सहज सहर बनाउन आफ्नो ठाउँबाट योगदान दिनु पनि हो।
स्रोत तथा थप अध्ययन
OECD Observer, Volume 1972, Issue 1 — ब्रेमेनको ट्राफिक सेल अवधारणाबारे ऐतिहासिक सन्दर्भ।
OECD Observer, Volume 1972, Issue 3 — ट्राफिक सेल र समग्र सडक व्यवस्थापनसम्बन्धी थप सन्दर्भ।
OECD Observer, Volume 1979, Issue 1 — गोथेनबर्गलगायतका सहरको ट्राफिक व्यवस्थापनसम्बन्धी सन्दर्भ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय — ट्राफिक प्रहरीसम्बन्धी आधिकारिक जानकारी।



