चौथो राष्ट्रिय म्युजिक अवार्ड–२०८३ का लागि फारम खुल्ला

चौथो राष्ट्रिय म्युजिक अवार्ड–२०८३ का लागि आवेदन फारम खुल्ला गरिएको छ। कास्की खबरको आयोजनामा हुन लागेको अवार्डमा नेपाली संगीत क्षेत्रका विभिन्न विधामा सहभागी हुन इच्छुक कलाकार तथा सर्जकले आवेदन दिन सक्ने आयोजकले जनाएको छ। अवार्डअन्तर्गत राष्ट्रिय भावको गीत, लोकदोहोरीतर्फ सर्वोत्कृष्ट लोकगीत, शब्द सिर्जना, संगीत सिर्जना, गायक, गायिका, मोडल तथा भिडियो निर्देशनलगायतका विधा समेटिएका छन्। त्यसैगरी आधुनिक पप विधातर्फ सर्वोत्कृष्ट शब्द, संगीत, गायक, गायिका, मोडल महिला, मोडल पुरुष तथा निर्देशकलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। अन्य विधातर्फ सर्वोत्कृष्ट चाडपर्व गीत, भजन, छायांकन, सम्पादन तथा म्युजिक एरेन्जरलाई समेत सम्मान गरिनेछ।
आवेदनका लागि नाम, ठेगाना, गीतको नाम र सम्पर्क नम्बर उल्लेख गरी फारम भर्नुपर्नेछ। आयोजकका अनुसार अवार्डमा सहभागी हुन प्रति विधा रु. १,००० शुल्क लाग्नेछ। अवार्डको नियम तथा मूल्यांकनसम्बन्धी व्यवस्था आयोजकले निर्धारण गरेअनुसार हुने जनाइएको छ। गीतको भोटिङ मूल्यांकन ४० प्रतिशत र बाँकी ६० प्रतिशत आयोजकको निर्णयका आधारमा हुने आयोजकले जनाएको छ।
अवार्डका कार्यक्रम संयोजक कृष्ण आचार्य रोशनीले संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले इच्छुक कलाकार तथा सर्जकलाई समयमै आवेदन फारम भर्न आग्रह गर्नुभयो।



