पोखरामा मानव अधिकार रक्षक अभिमुखीकरण सम्पन्न

प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । प्रदेशभरि मानव अधिकार संरक्षण तथा निगरानी कार्यलाई प्रभावकारी बनाउन उद्देश्यसहित आयोजित उक्त कार्यक्रमको आयोजना अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेशले गरेको हो । अभिमुखीकरणका क्रममा मानव अधिकार रक्षकहरूको भूमिका, दायित्व, जोखिम व्यवस्थापन, तथ्य संकलन तथा प्रतिवेदन विधि लगायतका विषयमा छलफल भएकाे थियाे ।
इन्सेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारीले द्वन्द्वदेखि शान्ति प्रक्रियापछिको अवस्थासम्म मानव अधिकारका मुद्दाहरू अझै पूर्ण रूपमा हल हुन नसकेको बताउँदै भने, “द्वन्द्वकालीन घटनाका पीडितको न्याय सुनिश्चित गर्न राज्यका निकायहरू अझ प्रभावकारी हुनुपर्छ । मानव अधिकार रक्षकहरूले तथ्य खोजी, अनुगमन र दबाब अभिवृद्धिबाट शान्ति सम्झौता कार्यान्वयनमा महत्वपूर्ण योगदान दिन सक्छन् ।” उनले माओवादी सशस्त्र द्वन्द्व, शान्ति सम्झौताको उपलब्धि र अझै कार्यान्वयन हुन बाँकी विषयबारे पनि विस्तृत प्रस्तुति दिए । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौलाले मानव अधिकार रक्षकहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै भनिन्, “प्रदेशभर भइरहेको मानव अधिकार उल्लङ्घनलाई प्रभावकारी निगरानी, समयमै प्रतिवेदन र सहकार्य बिना रोक्न सकिँदैन । आयोग सधैं मानव अधिकार रक्षकसँग सहकार्य गर्न तत्पर छ ।
” प्रदेशभर सक्रिय मानव अधिकारकर्मीहरूको सहकार्य र समन्वयलाई सुदृढ बनाउन नयाँ संरचना तथा सञ्जाल गठनको तयारी पनि कार्यक्रममार्फत अघि बढाइएको छ । सहभागीहरूले मानव अधिकार संरक्षणमा सहकार्य, ऐक्यबद्धता र जिम्मेवारीबोध आवश्यक रहेकोमा जोड दिएका छन् । मानव अधिकारकर्मी, सरोकारवाला संस्था तथा पत्रकारहरूको सहभागिता रहेको कार्यक्रमका क्रममा मानव अधिकार संरक्षणमा संलग्न व्यक्तिहरूका भूमिका र दायित्व, सुरक्षा तथा जोखिम व्यवस्थापन, तथ्य संकलनका विधि, प्रतिवेदन (डकुमेन्टेसन) प्रक्रिया र द्वन्द्वपछिको संक्रमणकालीन अवस्था र मानव अधिकार लगायत विषयमा विस्तृत छलफल गरिएको थियो । प्रदेशमा नयाँ संरचना तथा सञ्जाल गठन पोखरामा प्रदेशस्तरीय मानव अधिकार रक्षक संजाल गठन गरेको छ । विहीवार पोखराको लेकसाइडमा आयोजित अधिमुखीकरण कार्यक्रमकाे अवसरमा संजाल गठन गरिएकाे हाे ।
Arjun
प्रदेशभर सक्रिय मानव अधिकारकर्मी, नागरिक समाज, पत्रकार र सरोकारवालाबीच सहकार्य, ऐक्यबद्धता र जिम्मेवारीबोध बढाउन नयाँ संरचना तथा सञ्जाल गठन गरिएकाे इन्सेकले जनाएको छ । सहभागीहरूले मानव अधिकार संरक्षणमा सामूहिक भूमिकाको आवश्यकता औँल्याउँदै प्रदेशमा सुदृढ, सक्रिय र उत्तरदायी मानव अधिकार सञ्जाल आवश्यक रहेकोमा जोड दिए । यसकाे सचिवालय इन्सेक प्रदेश कार्यालय रहनेछ । कम्तीमा ३ महिनामा एउटा बैठक बस्नेछ । कार्यक्रममा सहभागी नाथरिक अगुवा विष्णु बरालले देश आर्थिक संकटमा गु्रजिएकाे बताए । देश माफियाले चलाउदा दल कठपुतली बनेकाे भनाई उनकाे थियाे ।



