सिद्ध वराह आविको शैक्षिक अवलोकन भ्रमण

पोखरा २४ कास्कीकोटमा रहेको सिद्ध वराह आधारभूत विद्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको शैक्षिक अवलोकन भ्रमण मंसिर २ गते सम्पन्न गरेको छ। कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरु सहित शिक्षक–शिक्षिकाको टोली उक्त भ्रमणमा सहभागी भएको विद्यालयका प्रधानाध्यापक रिना शाहले जनाएकी छिन् । उनले समूहमा यात्रा गर्दा सहकार्य, अनुशासन, आपसी सम्मान, नेतृत्व क्षमता, समूहभावना जस्ता सामाजिक गुणहरूको विकास विद्यार्थीमा हुने बताइन्।

शैक्षिक अनुभव तथा स्थानीय भौगोलिक, सांस्कृतिक र धार्मिक स्थलहरूको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले गरिएको भ्रमणमा टोलीले बागलुङको पञ्चकोट, बागलुङ कालिका मन्दिर तथा कुस्मामा रहेको वन्जिजम्प अवलोकन गरेको थियो। विद्यार्थीहरूले प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र रोमाञ्चक पर्यटकीय गतिविधिबारे प्रत्यक्ष अनुभव लिन पाएको बताउँदै आफूहरूलाई सिकाइको नयाँ आयाम थपिएको प्रतिक्रिया दिएका छन्। विद्यालयका शिक्षिका सरस्वती ढकालले यस किसिमका कार्यक्रमले विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने र पढाइको दबाबबाट केही समय बाहिर निस्केर प्रकृति, संस्कृति र नयाँ कुरा हेर्दा विद्यार्थीहरु मानसिक रूपमा पनि ताजा र उत्साहित हुने स्पष्ट पारिन् ।

उनले किताबमा पढेको कुरा आफ्नै आँखाले हेर्दा विद्यार्थीले छिटो र गहिरोसँग बुझ्न बुझेको तथा भौगोलिक, सांस्कृतिक, धार्मिक वा विज्ञान सम्बन्धी ज्ञान प्रत्यक्ष रूपमा अवलोकन गर्दा सिकाइ अझ प्रभावकारी भएको बताइन्। पहिलो दिनको शैक्षिक अवलोकन भ्रमण सकेर टोली कास्कीको घान्द्रुकमा आई बास बसेको थियो। घान्द्रुक बासका क्रममा टोलीले त्यहाँ रहेको सांस्कृतिक संग्रहालय अवलोकन गर्दै गुरुङ समुदायको इतिहास, परम्परा, जीवनशैली तथा पहिरनबारे महत्वपूर्ण जानकारी प्राप्त गरेको थियो। फर्किने क्रममा टोलीले काँडेमा पिकनिक कार्यक्रम समेत आयोजना गरेको थियो। विद्यालयका अनुसार शैक्षिक भ्रमणले विद्यार्थीहरूको व्यावहारिक ज्ञान, सांस्कृतिक समझ, सामाजिक सीप तथा मानसिक ताजगीमा महत्वपूर्ण योगदान पुर्याएको छ। गतवर्ष विद्यार्थीहरुले मादी गाउँपालिका सिक्लेसको होमस्टे लगायत त्यहाँका रमणीय स्थलहरुको अवलोकन भ्रमण गरेका थिए।

Related Articles

Back to top button