मन्त्रीको सामूहिक प्रतिवद्धताको मूल्याकंन गर्ने बेला भयो -पूर्वमुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारका मन्त्रीहरूले गरेको सामूहिक प्रतिवद्धता पुरा भयो कि भएन मूल्याकंन गर्ने बेला भएको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका उनले बिहीबार पेशागत महासङ्घ नेपाल गण्डकी प्रदेश कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 

‘मन्त्री परिषदमा जसलाई सामेल गर्‍यौ । उहाँहरूको सामूहिक रुपमा कमिटमेन्ट गरेका छौँ । त्यो कमिटमेन्ट भयो कि भएन अब हामीले मूल्याकंन गर्छौ’ उनले भने ।

एमालेबाट सरकारमा सहभागी मन्त्रीले कुनै पनि स्वार्थ नराखी राग, अनुराग, आहार, विहार, व्यवहार एमाले र कम्युनिष्ट आन्दोलनलाई नमुना बन्ने खालको प्रदर्शन गर्नुपर्ने उल्लेख गरे । 

मन्त्रीहरू जनताका लागि सरल, सहज पहुँच र गुनासा सुन्न सक्ने हुनुपर्नेमा उनको जोड छ । ‘जनता भएको ठाउँमा ठालु बन्ने, जनता भन्दा फरक ढङ्गले आउनेहरूसँग अत्यन्तै सहचार्य सहकार्य गर्ने काम हुनुहुँदैन’ एमाले स्थायी कमिटी सदस्य अधिकारीले भने । 

अहिले गण्डकी प्रदेश सरकारमा एमालेबाट नवलपुरकी पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, बागलुङका कृष्णप्रसाद पाठक स्वास्थ्यमन्त्री, पर्वतका मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्री र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका छन् । उनीहरूले गत भदौ १७ गते सपथग्रहण गरेका  थिए । 

सरकारको वर्किङ ह्‍यान्ड भनेको स्थायी सरकारको रुपमा रहेका कर्मचारी भएको भन्दै सरकारले ल्याएका योजनाको कार्यान्वयन र सेवाग्राहीको सहजताको लागि भूमिका खेल्नुपर्नेमा जोड दिए । परम्परागत ढङ्गले अगाडि नबढी अहिलेका साधन, श्रोत, विज्ञान, प्रविधिको उपयोग गर्दै सङ्गठनको सञ्जालीकरण गर्नुपर्ने बताए । 

अर्को प्रसङ्गमा बोल्दै  उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखेका सपनाहरू एकपछि अर्को गर्दै पुरा हुँदै गएको दावी समेत गरे ।  ‘नेपालीको मुर्छित सपनालाई ब्युँझाइदिने काम राजनीतिक नेतृत्व मध्ये पहिलोपटक गरेको केपी ओलीले हो’ उनले भने । त्यसकाे उदाहरणकाे रुपमा दैलेखमा झण्डै १ सय १२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डारण रहेको पत्ता लगाउने कुरा भएको भन्दै सुरुङमार्ग, फलामखानी, डाइभर्सन आयोजना लगायतका कारण समेत ओलीका सपना कार्यान्वयन हुने क्रममा पुगेकाे बताए ।  वृद्धभत्ता र सामाजिक सुरक्षाकोषको खास सूत्रपात गर्ने व्यक्ति मात्र नभएर मदन भण्डारीको योग्य अनुयायी ओली भएको उनको दावी थियो । उनले पार्टीमा लाग्नेहरूले नेतृत्व र नीति प्रति विश्वास गर्नुपर्ने उल्लेख गरे । 

पेशागत महासङ्घ नेपाल गण्डकीका अध्यक्ष महेन्द्र प्रसाद रिमालको अध्यक्षतामा भएको सङ्गठन सुदृढीकरण र सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पेशागत महासङ्घ नेपालका अध्यक्ष पुन्यप्रसाद ढकाल, नेकपा एमाले केन्द्रिय सदस्य चुडामणि जंगली, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका अध्यक्ष डा.सन्तोष पौडेल, सेवा निवृत्त शिक्षक सङ्गठन गण्डकी अध्यक्ष तोयनाथ लामिछाने, नेपाल निजामति कर्मचारी सङ्गठन गण्डकी अध्यक्ष डोलराज पराजुली, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्की अध्यक्ष तिर्थराज ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा पेशागत महासङ्घ नेपालका उपाध्यक्ष हरि कुमार श्रेष्ठ र भोलानाथ पोखरेलले कार्यपत्र प्रस्तुत गरे। पेशागत महासङ्घ नेपाल गण्डकी उपाध्यक्ष हिरा कुमारी शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव बैकुण्ठ आचार्यले गरेका थिए । पेशागत महासङ्घ नेपाल ट्रेड युनियन ऐन २०४९ बमोजिम स्थापित ट्रेड युनियन महासङ्घ हो ।

Related Articles

Back to top button