मिडिया कप फुटसलको मुख्य सहयोगीमा सिडिएच

गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता २०८३’ को मुख्य सहयोगीमा कफी डे हिमालयज (सिडिएच) रहने भएको छ । संकल्प मिडिया एन्ड मल्टिपर्पोजद्वारा सञ्चालित नयालिपि न्युज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते यो प्रतियोगिता हुन लागेको हो । पोखरा रंगशालाको बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने खेलका लागि सिडिएचसँग सम्झौता भएको छ ।
पोखराको लेकसाइडस्थित गौरीघाटमा रहेको सिडिएचका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङ र संकल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठबीच मंगलबार साझेदारी सम्झौता भयो । सिडिएचले विगत २ वर्षदेखि अर्गानिक कफी हाउस सञ्चालन गर्दै आएको छ । यस कम्पनीसँग कफी प्रशोधन गर्ने ‘ब्लु सिप’ आउटलेट समेत रहेको व्यवस्थापक अरुण गुरुङले बताए । त्यहाँ कफी पल्पिङ, रोस्टिङ र ग्रान्डिङ गर्ने व्यवस्था छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद, सिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै, दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ नगद, सिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक र गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले १ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।
सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । खेलाडीले १ प्रति पासपोर्ट साइजको फोटो, नेपाल पत्रकार संघ वा सूचना विभागको परिचयपत्रको प्रतिलिपि र सम्बन्धित जिल्ला शाखाको सिफारिस पत्र उपलब्ध गराउनुपर्ने श्रेष्ठले स्पष्ट पारे । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
सीडीएचले ५ वर्षदेखि पोखराको न्युरोडमा कफी एकेडेमी नामको ब्यारिस्टा स्कुल सञ्चालन गर्दै आएको व्यवस्थापक अरुणले बताए । यो पोखराको स्तरीय ब्यारिस्टा तालिम केन्द्र हो । प्रतियोगिताको तयारी तीव्र पारिएको र अन्य संघ संस्थासँग पनि साझेदारीका लागि छलफल भइरहेको आयोजकले जनाएको छ । यस प्रतियोगिताले सञ्चारकर्मीबीचको आपसी सम्बन्ध र खेलकुद विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।



