पोखरा लेकसाइडमा टेम्पल बेल बुटिक होटल सञ्चालनमा, औपचारिक उद्घाटन नयाँवर्षमा

पोखरा ।

पोखराको लेकसाइडमा ’टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ सञ्चालनमा आएको छ । जग्गासहित एक अर्ब २५ करोडको लागतमा सञ्चालनमा आएको यो होटलमा दुई प्रकारका सुइट कोठा समेटिएका छन् । जसअन्तर्गत एउटा प्रेसिडेन्टल सुइट र एउटा जुनियर सुइट रहेका छन्। साथै, होटलमा पाँच वटा सुपर डिलक्स र ४७ वटा डिलक्स कोठा गरि कुल ५५ वटा कोठा रहेको टेम्पल बुटिक एण्ड स्पाका प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए ।

पोखरा लेकसाइडको स्ट्रिट नम्बर १७ लालुपाते मार्गमा सञ्चालनमा आएको बुटिक अवधारणामा तयार पारिएको डिलक्स चारतारे श्रेणीमा पर्ने यो होटल चिल्ली ग्रुपको लगानीमा स्थापना भएको हो । पोखरामा सोमबार पत्रकार सम्मेलन गरेर होटलको सेवा सुविधाबारेमा जानकारी गराइएको छ । साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको यो होटल पूर्ण रूपमा नेपाली थिममा तयार पारिएको संस्थापक अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । उनका अनुसार यो होटेलमा नेपाली कला र संस्कृति झल्कने गरि थाङ्का तथा ढुङ्गाहरूको प्रयोग गरिएको छ ।

सफ्ट ओपनिङ भइसकेको यो होटलको औपचारिक उद्घाटन भने नयाँवर्ष २०८२ मा गरिने छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी पाहुनाको लागि विशेष छुट र आकर्षक अफरहरू उपलब्ध गराइएको प्रबन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिए ।

नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी पाहुनालाई सिङ्गल र डबल रुम छुट सहित ७ हजार छ सय र ८ हजार पाँच सयमा तथा विदेशी पाहुनालाई १२ हजार र १४ हजार रुपैयाँ लाग्नेछ । स्विट रुममा छुट सहित स्वदेशी पाहुनालाई ३५ हजार रुपैयाँ र विदेशी पाहुनालाई ४८ हजार रुपैयाँ लाग्नेछ । यो प्याकेजमा फ्री एक्सक्लुसिभ ब्रेकफास्ट, स्टीम, साउना र एयरपोर्ट पिक अप र ड्रप को सुविधा समेत राखिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । सन् २०२१ डिसेम्बरमा सुरु भएको होटल निर्माण कार्य कोभिड–१९ महामारीका चुनौतीबीच सम्पन्न गरिएको हो । प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक तथा कोभिड–१९ महामारीको कारणले गर्दा निर्माण साढे तीन वर्षमा सम्पन्न भएको हो ।

होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्विमिङ पुल, बुद्ध सदन नामक सम्मेलन हल, महिला तथा पुरुषका लागि स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, याक एण्ड यति नामक स्विमिङ पुलसँगैको बार, आँटी नामक आलाकार्ट रेस्टुरेन्ट, आपतकालीन द्वार, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध छ ।

भवनको संरचना स्थानीय ढुङ्गा, नेपाली काष्ठकला, ढाका, थान्का, झुमर, नेपाली पेन्टिङ आदि सामग्री प्रयोग गरी निर्माण गरिएको छ ।

होटलमा करिब ६० जना दक्ष कर्मचारी कार्यरत छन् । जसमा केही स्वदेश तथा विदेशमा अनुभव प्राप्त गरेका छन् । अन्य कर्मचारीलाई पनि अतिथि सत्कार, व्यवस्थापन, खाना पकाउने कला, र ग्राहक सेवा सम्बन्धी थप तालिमहरू प्रदान गरिएको छ । होटल भूकम्प प्रतिरोधी संरचना र आधुनिक अग्नि नियन्त्रण प्रणाली सहित निर्माण गरिएको बताइएको छ । ग्राहकको सुझावका आधारमा सेवा सुधार गर्दै वैशाख महिनाभित्र ग्रान्ड ओपनिङको योजना रहेको छ । पत्रकार सम्मेलनमा चिल्ली ग्रुपका कर्पोरेट म्यानेजर लेखनाथ पहारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन आशा गुरुङले गरेकी थिईन् ।

 

Related Articles

Back to top button