पोखराको पीएन क्याम्पसमा भोलि मतदान हुने

पोखरा चैत ५/ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण क्याम्पस (पीएन) पोखरामा भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ ।निर्वाचन समितिले मंगलबार (आज) विज्ञप्ति जारी गर्दै बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने जानकारी दिएको हो ।
त्रुटि भएको मतपत्र रद्द गरी नयाँ छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान सुरु गर्न नसकिएको हुँदा ६ चैत बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जारी गरेको सुचनामा उल्लेख रहेको छ । जारी सुचना अनुसार मतदात प्रक्रियालाई सहयोग गरिदिन पनि विद्यार्थी संघ, संगठनलाई आग्रह समेत गरिएको छ ।
मतपत्रमा समानुपातिकतर्फ अखिल छैटौंको चिह्न नै नभएपछि उत्पन्न विवादका कारण मतदान नै सुरु हुन सकेको थिएन निर्वाचन समितिले गल्ती स्वीकार गर्दै फेरि मतपत्र छापेर निर्वाचन प्रक्रियामा जाने बताएको थियो ।
निर्वाचन समितिको त्रुटिका कारण निर्वाचन नै अन्योल भएको भन्दै विद्यार्थी संगठनले नाराबाजी र प्रदर्शन गर्दै छिटो निर्वाचन गराउन माग गरेका थिए । पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् ।



