मादी १२ भगवतीटारमा दोस्रो आलु महोत्सव हुने

कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा दोश्रो आलु महोत्सब गरिने भएको छ ।
हराभरा भगवती कृषक समूहको आयोजना र मादी गाउँपालिका वडा नं.१२ वडा कार्यालयको प्रायोजनमा आगामी चैत ३ गते हुन गइरहेको आलु महोत्सव सम्पन्न गर्न विभिन्न ५ वटा उपसमिति गठन गरी उपसमिति मार्फत तयारीलाई अगाडि बढाइएको हराभरा भगवती कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीले जानकारी दिइन् ।

कृषि, पर्यटन र व्यवसायको पंर्वद्धन गर्दै यस क्षेत्रमा हुने कृषि उत्पादनलाई बजारीकरण गर्ने मूख्य उद्धेश्यका साथ दोश्रो आलु महोत्सवको आयोजना गरी निरन्तरता दिइएको वडा नं.१२ का वडा अध्यक्ष कृष्ण दाहालले बताए ।

भगवती टारको जग्गा आलुका साथ साथै कृषि उत्पादनका लागि अति नै उर्वरा भूमि भएको यस क्षेत्रलाई मादी गाउँपालिकाको पकेट एरियाको रुपमा विकास गर्ने लक्ष्य रहेको हराभरा कृषक समूहका सचिव महेन्द्र पौडेलले जानकारी दिए ।

भगवती टारमा अर्गानिक आलु उत्पादन हुन्छ भन्ने स्थानको पहिचान गर्नुका साथै आगामी दिनमा संघिय सरकारसँग मादीको पानीलाई प्रयोग गर्दै सिंचाइको व्यवस्था गरी आलुको अलवा अन्य तरकारी तथा फलफुल उत्पादन गर्ने पनि योजना रहेको उनले बताए । यस महोत्वसमा ४ जातका आलुका साथै तरकारी तथा कृषि उपभोग्य सामानको खरिद विक्री समेत हुने आयोजकले बताएको छ ।

आलुका परिकारहरु, खुल्ला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवका आकर्षणका रुपमा रहेको प्रचार प्रसार उपसमितिका संयोजक मिलन केसीले बताए ।

यसै गरी खूल्ला भजन प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १० हजार, तृतिय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार रहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक बुद्धि प्रसाद पौडले जानकारी दिए ।

सहभागी समूहरुलाई सहभागी प्रमाण पत्र दिइने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १५ समूहको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।

भगवती टार जाऔं, अर्गानिक आलुका परिकारमा रमाऔं भन्ने नाराका साथ हुन गइरहेको दोश्रो आलु महोत्सवमा पूराना लोप हुँदै गएका ढिकी, जाँतो, सन्जेकी, मधुस, सिको, रोचा लगाएतका सामग्रीहरु प्रदर्शनीमा राखिने वडा नं.१२ की वडा सदस्य लक्ष्मी गिरीले बताइन् ।

महोत्सव सम्पन्न गर्नका लागि हराभरा कृषक समूहकी अध्यक्ष कुसुमलता सुवेदीको संयोजकत्वमा सात सदसीय मुल आयोजक समिति गठन गरिएको छ भने विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसमा प्रचार प्रसार उपसमितिको संयोजकमा मिलन केसी, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा बुद्धि प्रसाद पौडेल र सांस्कृतिक व्यवस्थापन उपसमितिको संयोजकमा इन्द्र बहादुर खत्री रहेका छन् भने मञ्च व्यवस्थापन उपसमितिमा लिला नाथ आचार्य र इमान गुरुङ रहेको हराभरा कृषक समूहका सचिव महेन्द्र पौडेलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button