प्रेस स्वतन्त्रतामाथिको अंकुशविरुद्ध पोखरामा पत्रकारको धर्ना

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाप्रति सरकार अनुदार बनेको विरोधमा कास्कीका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघले तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार उनीहरुले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित सांकेतिक धर्ना दिएका हुन् । धर्नामा महासंघ कास्कीका अध्यक्ष माधव बरालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी प्रयासविरुद्ध आन्दोलित हुनुपरेको बताए । समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजिएको र सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउने व्यक्तिलाई हालसम्म कारबाही नगरिएको भन्दै उनले विरोध जनाए ।

आन्दोलन गर्दा समेत सरकारले कुनै सुनुवाइ नगरेको र उल्टै मिडिया तथा पत्रकारमाथि ज्यादती गर्ने ढंगले सरकार अघि बढेको उनले बताए । ‘सांकेतिक रूपमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ढंगले जिल्ला प्रशासन कार्यालयमा हामीले धर्ना दिएका छौँ, आगामी दिनमा पनि हाम्रा चरणबद्ध आन्दोलनका कार्यक्रम जारी रहनेछन्,’ अध्यक्ष बरालले भने ।सरकारको यस्ता गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदारता देखाएकाले महासंघ विरोधमा उत्रिनुपरेको अध्यक्ष बरालको भनाइ थियो । धर्ना कार्यक्रममा विभिन्न सञ्चारगृहसँग आबद्ध सञ्चारकर्मीहरुको सहभागिता थियो

Related Articles

Leave a Reply

Back to top button