राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार राम थापालाई

राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३ हजार तीन सय ३३ र ताम्रपत्र छ ।
गलकोट–७, मल्म, बागलुङ स्थायी घर भएका थापा राष्ट्रिय समाचार समितिमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्षसमेत रहेका उनी राम थापा ‘अविरल’का नाममा साहित्य र गीत लेखनका पनि सक्रिय छन् ।
दुई दशकदेखि यो क्षेत्रमा क्रियाशील थापाले पत्रकारितामा सक्रियतासँगै स्वास्थ्य क्षेत्रका गतिविधि र समस्यालाई समेत उजागर गरेकाले पुरस्कृत गर्ने निर्णय भएको प्रतिभा छनोट समिति संयोजक केशवशरण लामिछानेले बताए । छनोट समितिमा पत्रकारद्वय फडिन्द्र अकिञ्चन र ऋषि खतिवडा, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ र प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला सदस्य छन् ।
१३ वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले युआरएल फाउन्डेसनलाई प्रवर्धन गरेको छ । फाउन्डेसनको यो पुरस्कारबाट हालसम्म जमुना वर्षा शर्मा, दीपेन्द्र श्रेष्ठ, आरजू विष्ट ‘सल्यानी’, हरि बास्तोला, प्रदीप पौडेल, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा र ऋषि खतिवडा सम्मानित भइसकेका छन् ।
फाउन्डेसनले प्रदान गर्दै आएको लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यो वर्ष स्थगन गरिएको छ । युआरएलका अध्यक्ष पन्तले युआरएलको यही मंसिर २३ गते हुने वार्षिकोत्सव समारोहमा पुरस्कार अर्पण गरिने जानकारी दिए ।



