पोखरा पर्यटन परिषद् द्धारा सभामुख मार्फत सरकारसँग १० बुँदे माग

पोखरा तथा गण्डकी प्रदेशको पर्यटन विकास र समृद्धिका लागि पोखरा पर्यटन परिषद्ले १० बुँदे माग अघि सारेको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले सभामुख डिपि अयार्ललाई ज्ञापनपत्र बुझाउदै सरकारलाई ध्यान आक्रषर्ण गराउन अनुरोध गरे ।

परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान विस्तार, पर्यटकीय पूर्वाधार निर्माण, पदमार्ग संरक्षण, पर्यटन व्यवसायमैत्री नीति तथा कर प्रणालीमा सुधार लगायतका विषयमा आवश्यक पहल नियम कानुन बनाउन सरकारलाई ध्यान आक्रषर्ण गराउन आग्रह गरे ।

परिषद्ले पर्यटन क्षेत्रको दिगो विकास र आर्थिक उन्नतिका लागि तीनै तहका सरकार, पर्यटनसँग सम्बन्धित संघसंस्था तथा अन्य सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ। परिषद्ले तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन पर्यटन विकासका योजना कार्यान्वयन गर्न आग्रह गरेको छ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न विशेष पहल गर्नुपर्ने परिषद्को माग छ।

त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने नेपालीका लागि श्रम स्वीकृति, भिसा प्रक्रिया लगायतका सेवा पोखराबाटै उपलब्ध गराउन तथा पोखराबाट देशका बाँकी छ वटै प्रदेश सहित विभिन्न गन्तव्यमा सिधा हवाई उडान विस्तार गर्न पहल गरिदिन आग्रह गरे ।

वातावरण संरक्षण ऐन, २०७६ र नियमावली, २०७७ का प्रावधानका कारण पहिले देखि सञ्चालनमा रहेका होटल व्यवसायको नवीकरणमा परेको समस्यालाई सहज बनाउन पनि माग गरिएको छ। लेकसाइड क्षेत्रमा रहेका होटल तथा व्यावसायिक भवनको सम्पन्नता प्रमाणपत्र र अभिलेखीकरणमा लाग्ने करमा सहुलियत दिन समेत परिषद्ले आग्रह गरेको छ।

गण्डकी प्रदेशको मुस्ताङस्थित कोरोला नाकालाई चलायमान बनाई कैलाश मानसरोवर तथा मुक्तिनाथ–दामोदरकुण्ड क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने परिषद्को माग छ। कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन सडक यथाशीघ्र सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

बढ्दो सडक विस्तार र समयमै मर्मत हुन नसक्दा गण्डकी प्रदेशका पुराना पदमार्गहरू हराउँदै गएको भन्दै परिषद्ले तिनको संरक्षण, मर्मतसम्भार तथा नयाँ पदयात्रा गन्तव्यको खोजी र विकास गर्न माग गरेको छ। पदयात्राका लागि नेपाल आउने विदेशी पर्यटकको आकर्षण कायम राख्न पदमार्गको संरक्षण आवश्यक रहेको परिषद्को भनाइ छ।

पोखरा–६ लेकसाइडस्थित नेपाल ट्रस्टको संरक्षणमा रहेको रत्नमन्दिरलाई सङ्ग्रहालयका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गर्नुपर्ने माग पनि परिषद्ले अघि सारेको छ। त्यसैगरी, फेवातालको संरक्षण र ताल वरिपरि पदमार्ग निर्माणका लागि आवश्यक पूर्वाधार विकास गर्न आग्रह गरिएको छ।

व्यवसायीले तिर्नुपर्ने कर तथा राजस्व एकद्वार प्रणालीबाट सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्ने परिषद्को अर्को माग छ। यसले व्यवसायीलाई सहज हुने र कर प्रशासनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने परिषद्को अपेक्षा छ।

Related Articles

Leave a Reply

Back to top button