४७ औं विश्व पर्यटन दिवसको अवसरमा दगाम सामुदायिक होमस्टेमा गाउँको पर्यटन विकास र उत्पादनमा जोड दिन मेयर पण्डितको आग्रह

“हरेक गाउँ, पर्यटकीय ठाउँ” भन्ने मूल नाराका साथ ग्रामीण पर्यटन प्रबर्द्धनमा सक्रिय संस्था गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दगामसामुदायिक होम स्टेमा दुई दिने घरबास प्रबर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
४७ औं विश्व पर्यटन दिवसको सुअवसरमा आयोजित उक्त घाबास प्रबर्द्धन कार्यक्रमको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका प्रमुख (मेयर) कृष्णराज पण्डितले गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर पण्डितले नगरपालिकाले गाउँलाई उच्च प्राथमिकतामा राखेर विकासका कामहरू अगाडि बढाइरहेको अनुभव व्यक्त गर्नुभयो । उहाँले ग्रामीण पर्यटनको विकासका लागि गाउँको प्राकृतिक सौन्दर्य कायम राख्दै सरसफाइमा विशेष ध्यान दिन र स्थानीय बासिन्दाहरूलाई आयआर्जनका लागि उत्पादनसँग जोडिन आग्रह गर्नुभयो । साथै, गाउँका विद्यमान समस्याहरूको सूची बनाएर नगरपालिकामा जानकारी गराउन अनुरोध गर्दै ती समस्याहरूको समाधानका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले संस्थाको मूल नारालाई सार्थक तुल्याउन ४७ औं विश्व पर्यटन दिवसको सन्दर्भमा दगाम सामुदायिक होम्स्टेमा कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
सो अवसरमा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका शाखा अधिकृत रामहरि ढुंगाना, दगाम सामुदायिक होमस्टेका सल्लाहकार नन्दलाल थापा, भिटोफ गण्डकीका सल्लाहकार टिकाराम सापकोटा र पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरेराम अधिकारी लगायतले विश्व पर्यटन दिवसको महत्त्व र ग्रामीण पर्यटनले स्थानीय अर्थतन्त्रमा पुर्याउने योगदानबारे आफ्ना भनाइहरू राख्नुभएको थियो ।
सोअबसरमा हाइकर्स क्लब नेपाल, नेपाल पर्यटन बोर्ड, नेपाल पंछि समाज, टुर एण्ड ट्राभल्स एशोसिएशन, पोखरा महानगरपालिका आर्थिक महाशाखा, पोखरा ब्यबसाय प्रबर्द्धन केन्द्र, लगाएतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष विश्वराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव विशाल पौडेलले गर्नुभएको थियो ।



