घरपालुवा कुकुर व्यवस्थापन गर्न पोखरा–२६ को वडा कार्यालयको आग्रह

पोखरा महानगरपालिका वडा नं. २६ ले घरपालुवा कुकुरलाई व्यवस्थित रूपमा पाल्न वडावासीलाई आग्रह गरेको छ। वडा कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनामा घरमा कुकुर पाल्ने केही नागरिकले बिहान तथा साँझपख कुकुरलाई डुलाउने क्रममा सार्वजनिक स्थल, छिमेकीको घरअगाडिको सडक, खाली ठाउँ तथा अरूलाई असर पर्ने गरी दिसापिसाब गराउने गरेको गुनासो आएको जनाएको छ।

वडा कार्यालयका अनुसार यसरी कुकुर पाल्दा सार्वजनिक स्थान तथा अन्य व्यक्तिलाई असर पर्ने गतिविधि रोक्नुपर्नेछ। साथै, घरपरिसरमै कुकुरलाई दिसापिसाब गराउने व्यवस्था मिलाउन सम्बन्धित सरोकारवालालाई आग्रह गरिएको छ।

वडाले सार्वजनिक स्थानमा कुकुरका कारण हुने फोहोर तथा असहजता नियन्त्रण गर्न सबै घरधनीलाई जिम्मेवार बन्न अनुरोध गरेको छ। सूचनामा कुकुर र धनीको फोटोसहितको विवरण वडा कार्यालयमा उपलब्ध गराई सहयोग गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, घरमा कुकुर पाल्ने घरधनीको विवरण संकलन गरी त्यसको अभिलेख वडा कार्यालयमा पठाउन सम्पूर्ण टोल विकास संस्थाहरूलाई समेत अनुरोध गरिएको छ। पोखरा महानगरपालिका वडा नं. २६ कार्यालयले सार्वजनिक स्वच्छता, छिमेकीको सुविधा र जिम्मेवार पशुपालनलाई ध्यानमा राख्दै उक्त सूचना जारी गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Back to top button