मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन

मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक  सम्पर्कविहीन भएका छन् ।

कास्की, माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रबाट उनीहरु सम्पर्कविहीन भएका हुन्। पोखरा महानगरपालिका १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ र २३ वर्षका दिपेश गुरुङ बेपत्ता भएको प्रहरीले जनाएको छ।

उनीहरु आज बिहान ८ बजेसम्म सम्पर्कमा थिए। त्यसपछि मोबाइल अफ भएकाले उनीहरुसँग सम्पर्क हुन सकेको छैन। युवकहरु हराएको सूचना बिहान ११ बजे प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको छ। सुरुमा बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारीसहित ४ जनाको टोली खोजीमा खटिएको थियो।

घटनाको थप जानकारी लिन र खोजी गर्न भेँडावारी प्रहरी पोस्टबाट प्रहरी हवल्दार जीवन बरालको नेतृत्वमा २ जनाको टोली परिचालन गरिएको छ। यो टोलीले स्थानीय बासिन्दा र बेपत्ताका आफन्तसँग समन्वय गरिरहेको छ। अहिलेसम्म युवकहरु फेला परेका छैनन्।

दिउँसो २ बजे युवकहरु अन्नपूर्ण गाउँपालिका ११ छुमरुङको फेदीस्थित मोदी खोलापारि रहेको सूचना प्राप्त भएको छ। सो क्षेत्रमा खोजीका लागि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा २ जनाको टोली खटिएको छ।

Related Articles

Back to top button