कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय

कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आज (शुक्रबार) पोखरामा आयोजना गरेको धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन सर्वपक्षीय समन्वय बैठकमा सरोकारवाला निकायले कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धत्ता जनाएका हुन् ।

कास्कीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय बैठकबाट चारबुँदे निर्णय गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले पछिल्ला दिनमा तराई–मधेश क्षेत्रमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको प्रभाव कास्कीमा समेत पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्लामा शान्ति, सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक एकता कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो ।

बैठकले ऐतिहासिक कालदेखि नेपाली समाजमा कायम रहेको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा क्षेत्रीय एकता र सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति सबै पक्ष सजग रहने तथा त्यस्ता गतिविधिमा संलग्न नहुने प्रतिबद्धता जनाएको छ । यस्ता अवाञ्छित गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई आवश्यक सहयोग गर्ने सहमति पनि गराएको निर्णय सार्वजनिक गर्दै प्रशासनले सार्वजनिक स्थानमा सभा, जुलुस, प्रदर्शन वा अन्य कुनै कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य रूपमा पूर्वस्वीकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो ।

त्यसैगरी विभिन्न धार्मिक अगुवा तथा धर्मगुरूहरूले आ–आफ्ना धर्म र संस्कृतिसँग सम्बन्धित कार्यक्रम तथा समारोहमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको सन्देश प्रवाह गर्ने प्रवचन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले जिल्लाका राजनीतिक दल, स्थानीय तह, धार्मिक सङ्घसंस्था, नागरिक समाज, सामाजिक अभियन्ता तथा सर्वसाधारणलाई सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न प्रशासनसँग समन्वय र सहकार्य गर्न आग्रह गरेको छ । सहभागीहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै मानवताको पक्षमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । सर्वपक्षीय समन्वय बैठकमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी तथा विभिन्न धार्मिक सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Related Articles

Check Also
Close
Back to top button