गणतन्त्र दिवसको अवसरमा फेवाताल सरसफाई

पोखरा ।
मंगलवार पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवा तालको सरसफाई गरिएको छ । गणतन्त्र दिवसको छेको पारेर गणतन्त्र दिवस मूल समारोह समिति, गण्डकीको आयोजना र पोखरा महानगरपालिकाको व्यवस्थापनमा फेवाताल सरसफाई गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सीनाले वर्षायाम लागेसँगै वर्षाको पानीले विभिन्न ठाउँबाट बगाएर ल्याएको फोहोरहरु फेवाताल किनारमा जम्मा पार्न थालेको र फेवातालको दृश्यलाई कुरुप पार्न थालेकाले बृहत सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा नागरिक समाज, नगर प्रहरी र सुरक्षा निकायको सहभागीतामा पोखरा९१७, ड्यामसाइड पार्कमा सरसफाई गरिएको हो ।
महानगरपालिकाले नियमित सरसफाई गर्दै आएको भएपनि वर्षाको पानीले जलकुम्भी लगायतका फोहोरहरु बगाएर ल्याउनाले ताल फोहोर देखिन थालेको थियो । प्रवक्ता तिम्सीनाले फेवातालसँगै प्राकृतिक र साँस्कृतिक सम्पदाहरु सफा राख्नु सबै नागरिकको दायित्व हुने भएकाले फोहोर संकलन गर्ने गाडी नआउँदासम्म फोहोरलाई घरभित्रै राख्न र जथाभावी नफाल्न आग्रह गरेका छन् ।
प्रवक्ता तिम्सीनाले फेवातालको मापदण्ड छुट्याउने काम अन्तिम चरणमा पुगेको र अब केहि दिनमा नै डिजिटल पोल गाड्ने काम सुरु हुने बताएका छन् । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर कायम राख्न फैसला गरेको छ । सोही आदेश पालना गर्ने काम कार्यन्वयनको चरणमा रहेको पोखरा महानगरपालिका वडा नं। २५ का अध्यक्ष समेत रहेका तिम्सीनाले बताएका हुन् ।
गणतन्त्र दिवस मूल समारोह समिति गण्डकी प्रदेशले यस वर्ष जेठ १५ गते विशेष कार्यक्रमसहित गणतन्त्र दिवस मनाउँदै छ । सोही कार्यक्रमको पुर्वसन्ध्यामा फेवाताल सरसफाई गरिएको हो । यद्यपी पोखरा महानगरपालिकाले विगतका वर्षहरुमा पनि फेवातालको बृहत सरसफाई गर्ने गरेको थियो ।



