एसईई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम

लेखनाथ/

पोखरा महानगरपालिका वडा नं. २६ ले एसईई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित तालिमको शुक्रबार देखी शुभारंभ भएको छ ।

तालिम शुभारंभ गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा अभ्यस्त गराउन तालिम सहयोगी हुने बताउनु भयो ।

तालिमले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्नको लागि पनि थप सहयोग पुग्ने उल्लेख गर्दै, अध्यक्ष थापाले डिजिटल प्रविधिको सिकाई जीवन उपयोगी हुने समेत बताउनु भयो ।

भिडियो सम्पादन, विषयबस्तुको खोजी र चयन एवं ग्राफिक्स डिजाईनको तालिमले एसईईको नतिजा पछिको अध्ययनलाई समेत थप टेवा पुग्ने उहाँले उल्लेख गर्नु भयो ।

अध्यक्ष थापाले सामाजिक संजाल र नयाँ संचार माध्यमको विकास भैरहेको अवस्थामा तालिमपछि आय आर्जनसँग पनि जोडिने गरी शिप सिक्न प्रशिक्षार्थीलाई आग्रह गर्नु भयो । उहाँले वडाले पढ्दै कमाउँदै र बुक फ्रि डे जस्ता विद्यार्थी लक्षित कार्यक्रम बनाएको जानकारी दिदै त्यसलाई शिप विकाससँग जोड्दै लगिने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा शिक्षाविद् रविराज बरालले परिक्षा पछिको फुर्सदको समय के गर्ने भन्ने निर्णय गर्न नसकेका विद्यार्थीका लागि उचित समयमा तालिम प्रदान गरिएको बताउनु भयो ।

उहाँले बृज कोर्षको नाउँमा विद्यार्थीहरुले महङ्गो शुल्क तिर्ने गरेको उल्लेख गर्दै, शिप विकास हुने तालिमको आयोजना गरेर वडाले स्थानीय सरकार हुनुको अनुभुती दिलाएको बताउनु भयो ।

वडा सदस्य तिर्थबहादुर राजभाटको अध्यक्षतामा भएको तालिम शुभारंभ कार्यक्रममा वडा नं. २६ का वडा सचिव लिलामणि भण्डारी, सुचना अधिकारी नवराज सापकोटा तालिम सहयोगी संस्था आकारका इन्जिनियर सन्दिप पौडेल लगायतले सामाजिक संजाल सहितको डिजिटल प्रविधिको ठुलो बजार रहेको उल्लेख गर्दै, त्यसको सदुपयोग गर्न आग्रह गर्नु भएको थियो ।

भिडियो सम्पादन, ग्राफिक्स डिजाईन, कन्टेन क्रियशन, व्यक्तित्व विकास, प्रोग्रामिङ एण्ड रोवटिक्स सहितको तालिममा वडा नं. २६ का ७० बालबालिकाको सहभागिता रहेको छ ।

 

Related Articles

Back to top button