क्रान्तिकारी कम्युनिष्ट पार्टीको पोखरामा प्रदेश समिति गठन

गत महिना दुई पार्टी एकिकरण पछि बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पोखरामा आइतबार पार्टीको प्रदेश एकता अधिवेशन सम्पन्न गरेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मशालबीच पार्टी एकता भएको थियो ।

१३५ औं मजदुर दिवसको अवसरमा गएको बैशाखमा काठमाडौंमा ती पार्टीहरुका बीच एकताको घोषणा गरिएको थियो । एकतापछि पार्टीको नाम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नै राखिएको छ । पोखरामा भएको अधिवेशनले प्रदेश संगठन समितिको संयोजकमा चिन्तामणि पौडेललाई चयन गरेको छ । पौडेलको संयोजकत्वमा १२५ जनाको प्रदेश संगठन समिति र २९ जनाको प्रदेश सचिवालय गठन गरिएको पार्टीद्धारा सोमबार पोखरामा आयोजित घोषणा सभामा जानकारी दिइएको थियो । धेरै पटकका वार्ता, छलफल तथा बहस पछि पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकता सुनिश्चित गरेको बताइएको छ ।

पोखराको घोषणा सभामा पार्टीका नेता राम सिंह श्रीसले देशमा जनतन्त्र र जनजीविकाको समस्याहरु विकराल बन्दै गइरहेको भन्दै सिमित जनतान्त्रिक अधिकारहरु खोसिदँै गएको बताए । बैंकहरुको संरक्षणमा लघुवित्तीय, मिटरव्याजी र सहकारी संस्थाहरुको चरम सुदखोरीले जनजीविकाका समस्या आकासिदै गएको उहाँ भनाइ थियो । राज्यसत्ता यी यावत समस्या समाधान गर्नुको सट्टा आन्दोलनकारीहरु माथि दमनमा उत्रेको उहाँको आरोप छ ।

सोही घोषणा सभा पार्टीका नेता हरिभक्त कँडेलले कम्युनिष्ट पार्टीको नाममा विभिन्न संशोधनवादी दलहरुको भ्रमममा परेका क्रान्तिकारीहरु र छरिएर रहेका विभिन्न समूहलाई पनि पार्टी एकता प्रक्रियामा सामेल हुन आव्हान गरेका थिए । देशमा विद्यमान समस्याको समाधान नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गरी पुगिने वैज्ञानिक समाजवादले गर्छ भन्ने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि नेता कँडेलको भनाइ छ । कार्यक्रममा नेताहरु अशोक लम्साल, चिन्तामणि पौडेल लगायतले पार्टीले आगामी दिनमा तय गर्नु पर्ने बाटोको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन पार्टी नेता केश बहादुर परियारले गरेका थिए । कार्यक्रममा दुई पार्टीको एकताको ले आधारहरु माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभुत कार्यक्रम रहेको जनाइएको छ। त्यस्तै क्रान्तिमा बल प्रयोगको अनिवार्य भुमिका, जनवादी केन्द्रियताको संगठन सञ्चालन पद्धती, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरु रहेको भन्दै पार्टी एकतासँगै नयाँ क्रान्तिको शुरुवात गरिने पनि बताइएको छ ।

एकतापछि ३१७ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ । समितिको संयोजकमा मोहन वैद्य किरण छन् । यस्तै सह–संयोजकमा सन्तबहादुर नेपाली र धर्मेन्द्र बास्तोला छन् । पार्टीको वरिष्ठ नेता सीपी गजुरेल छन् । पार्टी संचालन र महाधिवेशनको मिति तोक्ने लगायतका काम गर्न २५ सदस्यी कार्यालय बनाइएको छ । नेकपा मशाल मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट चार वर्ष अघि अलग भएको समूह हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button