ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न

पोखरा २१ भदौ

पोखराको बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न भएको छ।

चार दिनसम्म संचालित मेलाको अन्तिम दिन शुक्रबार समुहगत तिज गीत प्रस्तुति रहेको थियो। वडा नं १६ भित्रका २२ टोलीले तीज गीत प्रस्तुतिमा सहभागिता जनाएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए। सहभागी टोलीलाई नगद जनही दश हजार र प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरूलाई समापन कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संयोजक रामकुमारी बानियाँले नगद र प्रमाणपत्र प्रदान गर्नुभयो।

त्यस्तै कार्यक्रममा प्रचार प्रसारमा सहयोग गरेका सेतोपाना डट कमका कार्यकारी सम्पादक शिशिर पौडेल, रेडियो अकलाका विराज शर्मा, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ वञ्जरा, प्रमुख खवर डटकमका संजय थापा, समय नेपालका सन्देश बराल, पत्रकार रामप्रसाद पौडेल, परिवर्तन न्युजका प्रकास अधिकारी, सोनी पिक्चर्सका नवराज थापा प्रचार प्रसार उपसमितिका सदस्य अनिल नेपालीलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।

कार्यक्रममा मुख्य प्रायोजक, सह प्रायोजक, सहयोगी संघ संस्थालाई पनि सम्मान गरिएको सहसंयोजक मन्जु बस्यालले जानकारी दिनुभयो। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्यासीले तीज पर्वले महिला अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउने गरेको बताउनुभयो। उहाँले यस्तो सांस्कृतिक पर्वलाई भड्किलो पर्व हुनबाट जोगाउन सवै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाको संरक्षकत्वमा संचालित मेला सबैको समवन्यमा सफल रहेको बताउदै, आगामी वर्षका लागि योजना सहित अगाडी बढ्नुपर्ने बताउनुभयो।

मेला व्यवस्थापन मुल समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत आयोजक बडहरवोट आमा समुहकी अध्यक्ष कमला शर्मा तिमिल्सिना र संचालन मुल समितिका सदस्य भीम वहादुर गायक र सुनिता देवकोटाले गरेका थिए।

कार्यक्रममा लोकदोहोरी गायिका पुजा तामाङ, रिता तिमिल्सिनाले आफ्ना चर्चित तिजे भाकामा सहभागि महिलालाई नचाएका थिए। नृत्याङ्गना एन्जिला थापाको नृत्यले दर्शकमा उत्साह थपेको थियो। मेला हेर्न पोखराका विभिन्न भागबाट दर्शकहरु बाटुलेचौर मैदान पुगेका थिए ।

Related Articles

Check Also
Close
Back to top button