रेवान पोखरा अध्यक्षमा वसन्त गौतम निर्वाचित

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्।
शनिबार संस्थाको ३२ औं वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । पोखराको चर्चित टेम्पल ट्रिका संचालक गौतम मेड फाइभ, क्याफे कन्सर्टका पनि संचालक हुन् ।
कार्यसमितिको निवर्तमान अध्यक्षमा विश्वराज पौडेल, प्रथम उपाध्यक्षमा विकास भट्टराई, द्वितीय उपाध्यक्ष योगेश भट्टराई, महासचिव वीरेन्द्र शेरचन, सचिव रोशनजंग कार्की, कोषाध्यक्ष सुरेश न्यौपाने र सहकोषाध्यक्ष सफल थापा छन् ।
सदस्यहरु सुनिलबहादुर भट्टराई, सुमन भट्टराई, वैभव पौडेल, भीष्म पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, राजबहादुर भुजेल, वसन्त न्यौपाने छन् । २ सदस्य अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ । कार्यकाल २ वर्षको हुनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले साधारणसभाको उद्घाटन गरे ।
सो अवसरमा विभिन्न क्षेत्रमा योगदान दिएकामा सम्मान गरिएको थियो । सम्मानित हुनेमा दुई दशकदेखि पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान दिएकोमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्मा सम्मानित भइन् । उनलाई नगद २० हजारसहित सम्मान गरिएको हो ।
यसैगरी, नागरिक समाज पोखराका संस्थापक संयोजक एवं पोखरा बृहत् सरसफाइ महाअभियानका संयोजक रामबहादुर पौडेल, स्वयंसेवी सीताराम दाहाल, डुलुवा टिम पनि सम्मानित भए ।
साथै, रेवानले आफ्ना सदस्य प्रतिष्ठानबाट म्यानेजर, सेफ र कुकलाई पनि सम्मान गर्दै आएको छ । म्यानेजर हरि पौडेल, सेफ ताराप्रसाद श्रेष्ठसमेत सम्मानित भए ।
निर्वाचन समितिमा पूर्व अध्यक्ष चौबहादुर गुरुङ संयोजक थिए । सदस्यमा पूर्व अध्यक्षद्वय बलराम पहारी र लक्ष्मण बराल थिए ।
बर्सेनि अंग्रेजी नयाँ वर्ष अवसरमा पोखरामा सडक महोत्सव आयोजना गरेर देशविदेशका हजारौं पर्यटक उतार्ने रेवानले पर्यटन प्रवद्र्धनसहित रेष्टुरेन्ट तथा बारमा कार्यरत कर्मचारीको क्षमता विकासका तालिम दिँदै आएको छ । सेफ, वारिष्टा, बार टेन्डरसम्बन्धी तालिमका अलावा खाद्य स्वच्छतासम्बन्धी तालिम दिने गरेको महासचिव शेरचनले जनाए । यसबाहेक प्रत्येक २ वर्षमा बृहत् स्वास्थ्य शिविर गर्ने गर्छ ।
संस्थामा यस वर्ष थपिएका ६ नयाँ सदस्यसहित ९० हाराहारीमा सदस्य छन् ।



