पोखरामा बजार अनुगमनः फ्रेस जुस सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना

पोखरा महानगरपालिकाको बैदाममा सञ्चालित फ्रेस जुस सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा सेन्टरलाई कारबाही भएको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालको नेतृत्वमा मंगलबार पसलको निरीक्षण गरिएको थियो । टोलीले पसलमा अत्यधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला पारेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम स्ट्रिट नम्बर १० मा रहेको पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै १२ केजी फलफूल भेटिएका छन् । जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए । यी फलफूलको बजार मूल्य ३ हजार ४ सय ७० रुपैयाँ रहेको छ । टोलीले ती सबै अखाद्य फलफूलहरु तत्काल नष्ट गरिदिएको छ ।
अनुगमनका क्रममा पसल सञ्चालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन् । पसलमा सरसफाइको अवस्था निकै दयनीय रहेको टोलीले जनाएको छ ।
अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु सहभागी थिए । प्रशासनले पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना तिराउनुका साथै विभिन्न सुधारका निर्देशनहरु समेत दिएको छ ।
प्रशासनले पसल र जुस बनाउन प्रयोग हुने सामग्रीहरुको नियमित सरसफाइ गर्न निर्देशन दिएको छ । व्यवसाय दर्ता र नापतौलका लागि प्रयोग हुने सामग्रीहरुको समयमै नवीकरण गर्न भनिएको छ ।
व्यवसायसँग सम्बन्धित सबै कागजातहरु सबैले देख्ने गरी राख्नुपर्ने नियम बनाइएको छ । जुसमा कुनै पनि प्रकारका अखाद्य रङ वा फ्लेवर प्रयोग नगर्न समेत सचेत गराइएको छ ।



