गण्डकीको पर्यटकीय राजधानी पोखरामा ट्याक्सीको सेवा सुधारिँदै: चालकहरूलाई हेडसिट कभर वितरण

अर्जुन हिताङ,गण्डकी प्रदेशको प्रमुख पर्यटकीय राजधानी पोखरामा ट्याक्सी व्यवसायले पुर्याउँदै आएको सेवालाई अझ बढी गुणस्तरीय, मर्यादित र पर्यटक-मैत्री बनाउने उद्देश्यले एक विशेष कार्यक्रमको आयोजना गरी विभिन्न सामग्रीहरू वितरण गरिएको छ । सुन्दर पर्यटकीय नगरी पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पहिलो छाप (First Impression) नै यातायात क्षेत्रले दिने भएकोले यस क्षेत्रको सुधारमा सरोकारवालाहरूले जोड दिएका छन् ।

यसै सन्दर्भमा, पोखरेली ट्याक्सी सेवा प्रा.लि. र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्यटन क्षेत्रमा सञ्चालित ट्याक्सीहरूलाई एक भव्य समारोहबीच ‘हेडसिट कभर’ वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सभाहलमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने रहनुभएको थियो । कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन प्रमुख बिनोद सिंह रावत तथा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । उहाँहरूले पर्यटकीय राजधानीको गरिमालाई उच्च राख्न ट्याक्सी चालक र व्यवसायीहरूको भूमिका सबैभन्दा अग्रपंक्तिमा रहने उल्लेख गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पोखरा आउने पर्यटकहरू विमानस्थल वा बसपार्कमा ओर्लिने बित्तिकै पहिलो सम्पर्क ट्याक्सी चालकहरूसँग हुने भएकाले चालकहरूको व्यवहार, गाडीको सरसफाइ र शिष्टताले समग्र पोखराको पर्यटनको छवि झल्काउने कुरामा जोड दिएका थिए । पर्यटन क्षेत्रको सेवा गुणस्तर अभिवृद्धि, यात्रुहरूको सुविधामा सुधार तथा पोखराको पर्यटन प्रवर्द्धनमा ट्याक्सी सेवाको भूमिकालाई अझ प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डद्वारा उपलब्ध गराइएका आकर्षक हेडसिट कभरहरू पर्यटन क्षेत्रमा सञ्चालित ट्याक्सीहरूलाई वितरण गरिएको थियो ।

यस अभियानले ट्याक्सीहरूलाई सफा, सुग्घर र व्यवस्थित राख्न थप मद्दत पुग्ने विश्वास लिइएको छ । उक्त कार्यक्रमको सञ्चालन पोखरेली ट्याक्सी सेवा प्रा.लि.का वरिष्ठउपाध्यक्ष सूर्यबहादुर थापाले गर्नुभएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रा.लि.का सञ्चालक, प्रतिष्ठित पर्यटन व्यवसायी, यातायात मजदुर तथा सदस्यहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो ।

 

Related Articles

Back to top button