म्याग्दीका नरबहादुर खत्रीलाई ४१ हजार आर्थिक सहयोग

म्याग्दी जिल्ला घर भई हाल पोखरा फुलबारी बस्दै आएका नरबहादुर खत्रीलाई मनकारी दिदीबहिनीहरूले आइतबार घरमै पुगेर नगद ४१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
दुवै खुट्टा अपाङ्गता भएका खत्रीको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ। परिवारको जीवनयापन, बालबच्चाको लालनपालन तथा शिक्षादिक्षा जुटाउन नसकिरहेका उनी पछिल्लो समय पायल्स र हर्नियाजस्ता स्वास्थ्य समस्याले थप पीडित बनेका छन्।
उनकी श्रीमती ईश्वरी खत्री पनि मुटुको रोगबाट ग्रस्त भएकी हुँदा परिवारमा दुवैजनाको उपचार खर्च जुटाउन झनै कठिनाइ परेको जनाइएको छ। यस अवस्थालाई बुझेर पोखराका मनकारी दिदीबहिनीहरूको एक समूहले घरमै पुगेर नगद ४१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। सहयोगकर्ताहरूले खत्री दम्पतीको उपचार र बालबच्चाको शिक्षाका लागि थप सहयोग आवश्यक भइरहेको भन्दै सबैलाई सहयोगका लागि आग्रह समेत गरेका छन्।
परिवारले सहयोगी हातहरू प्रती आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेका छन्।



