Site icon Kaski Khabar

कास्कीमा ८६ जना फरार प्रतिवादी पक्राउ, धेरै चेक अनादर मुद्दाका

पोखरा ।
कास्की प्रहरीले एक महिनाको अवधिमा कैद तथा जरिवाना असुल गर्न बाँकी रहेका ८६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । भाद्र १ गतेदेखि ३१ गतेसम्मको अवधिमा पक्राउ परेकामा ६३ जना पुरुष र २३ जना महिला रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर कैद तथा जरिवाना असुल गर्न अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।

विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ती फरार प्रतिवादीबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र ४६ लाख ४२ हजार ९ सय रुपैयाँ जरिवाना असुल हुने बताइएको छ । यसरी पक्राउ पर्नेमा सबैभन्दा धेरै चेक अनादर मुद्दाका फरार प्रतिवादी रहेका छन् । चेक अनादर मुद्दाका मात्रै ५२ जना पक्राउ परेका हुन् । लागूऔषध मुद्दाका ९ जना, चोरी सम्बन्धी मुद्दाका १ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका १ जना, हातहतियार तथा खरखजना मुद्दाका १ जना, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दाका १ जना छन् ।

यसैगरी राष्ट्रिय वन क्षेत्रमा रूख कटान गरी फडानी गरेको मुद्दाका २ जना, बाल यौन दुरुपयोग मुद्दाका २ जना, बैङ्किङ कसूर मुद्दाका ६ जना, अभद्र व्यवहार मुद्दाका ३ जना, लेनदेन मुद्दाका ३ जना, सवारी ज्यान मुद्दाका २ जना र जालसाजी मुद्दाका ३ जना रहेको सूचना अधिकारी शर्माले सोमबार साँझ प्रेस विज्ञप्ति मार्फत खुलाएका छन् ।

 

Exit mobile version