Site icon Kaski Khabar

सरिता गिरीको नक्सालाई सभामुखबाट अस्वीकृत

काठमाडौं, जेठ ३१ 

समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधन विधेयकमा दर्ता गराएको संशोधन अस्वीकृत भएको छ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावलीको नियम ११२ को (ख) र (ग) मा टेकेर संशोधन अस्वीकृत भएको बैठकमा जानकारी गराएका हुन्।

गिरीले नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्ने प्रस्तावमा संशोधन दर्ता गराउँदै ‘स्रोत र प्रमाण नखुलेको उल्लेख’ गरेकी थिइन्।

उक्त नियममा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउँदा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने उल्लेख छ।

गिरीले राखेको संशोधन प्रस्तावमा अब प्रतिनिधि सभामा कुनै मतदान हुने छैन। यदि गिरीको प्रस्ताव स्वीकृत भएको भए प्रतिनिधि सभामा उनको प्रस्तावमा सांसदहरूले हस्ताक्षर गरेर मत दिनुपर्थ्यो। गिरीको प्रस्ताव टेबल नहुने भएपछि अब सिधै संविधान संशोधन विधेयकको पक्ष र विपक्षमा मतदान हुनेछ।

सैद्धान्तिक रूपमा स्वीकृत हुँदा विधेयक सर्वसम्मतिले पारित भएको थियो। अब सभामुखले विधेयक पारित गर्न निर्णयार्थ पेश गर्दा गिरीले पक्षमा वा विपक्षमा केमा मत दिन्छिन् भन्ने टुंगो छैन।

यसअघि समाजवादी पार्टीले गिरीलाई संशोधन फिर्ता लिन समय दिए पनि उनले फिर्ता लिन अस्वीकार गरेकी थिइन् ।

Exit mobile version