Site icon Kaski Khabar

टेम्पल ट्री रिसोर्ट पुनः उत्कृष्ट करदाताबाट सम्मानित

पोखरा लेकसाइडस्थित टेम्पल ट्री रिसोर्ट एण्ड स्पा पुनः उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा कास्की जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामध्ये रिसोर्टलाई छनोट गरी सम्मान गरेको हो।

राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापनका अवसरमा आयोजित विशेष समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले रिसोर्टका अध्यक्ष वसन्त गौतमलाई दोसल्ला, माला तथा सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो। कर कानुनको पालना गर्दै राज्यलाई नियमित रूपमा कर योगदान पुर्‍याउँदै आएको टेम्पल ट्री रिसोर्ट यसअघि पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित भइसकेको छ। करिब चार वर्षअघि समेत कास्कीबाट उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको रिसोर्टले पुनः उक्त सम्मान हासिल गरेको हो। यसले रिसोर्टले कर प्रणालीप्रति देखाउँदै आएको जिम्मेवारी र निरन्तरतालाई थप उजागर गरेको छ।

सम्मान ग्रहण गर्दै रिसोर्टका अध्यक्ष वसन्त गौतमले प्रचलित कानुन र कर प्रणालीको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्दै आएको बताउनुभयो। नियमसङ्गत रूपमा व्यवसाय सञ्चालन गर्दै राज्यलाई कर योगदान पुर्‍याउँदा पुनः उत्कृष्ट करदाताका रूपमा सम्मानित हुने अवसर प्राप्त भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। साथै, सम्मानका लागि छनोट गर्ने आन्तरिक राजस्व कार्यालय पोखराप्रति उहाँले आभार व्यक्त गर्नुभयो।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राज्यलाई सबैले समयमै र उचित रूपमा कर तिर्नुपर्ने बताउनुभयो। नागरिक तथा व्यवसायीले आफ्नो कर दायित्व इमानदारीपूर्वक पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने उहाँको भनाइ थियो। करबाट प्राप्त राजस्व नै मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको महत्वपूर्ण आधार भएकाले कर तिर्ने संस्कारलाई सबैले आत्मसात् गर्नुपर्ने उहाँले बताउनुभयो।

प्रमुख कर अधिकृत ढुङ्गानाले राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभयो। कर प्रणालीप्रति नागरिक तथा व्यवसायीमा सचेतना अभिवृद्धि गर्ने, कर सहभागिता बढाउने र कर प्रशासन तथा करदाताबीचको सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा विभिन्न सरकारी निकाय, उद्योग वाणिज्य तथा व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी र करदाताहरूको सहभागिता रहेको थियो।

यस वर्ष आन्तरिक राजस्व कार्यालय पोखराले कास्की जिल्लाबाट तीनवटा संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ। टेम्पल ट्री रिसोर्टसँगै एक्सेस कन्स्ट्रक्सन प्रालि, पोखरा–५, मालेपाटनका सञ्चालक विद्या लक्ष्मी लामिछाने र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१३, कुडहरका अध्यक्ष माधवप्रसाद सिग्देल पनि सम्मानित हुनुभएको छ। आर्थिक वर्ष २०८१र८२ मा आयकरतर्फ बढी कर दाखिला गरेका, कर बक्यौता नरहेका तथा कुनै पनि कर अवधिको कर विवरण बुझाउन बाँकी नरहेका करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ।

Exit mobile version