इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणमा जिल्ला अदालत कास्कीले संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई सजाय सुनाएको छ । अदालतले नेपालीलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले कात्तिक १७ गते सुनाएको फैसाल ढिला गरी जानकारीमा आएको हो । अदालतले कैद सजाय र जरिवानासँगै पीडितको रकमसमेत असुल गर्न आदेश दिएको छ ।
बागलुङको इमेज सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि बागलुङ कारागार चलान भएका देवकुमार नेपालीसहित १५ जनाविरुद्ध पोखरामा पनि अभियोग दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइपछि कास्की जिल्ला अदालतले अहिले फैसला गरेको हो ।
फैसलाअनुसार सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानले ७ वर्ष कैद सजाय पाएका छन् । उनीहरू दुवैलाई जनही १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय पनि भएको छ । निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद सजाय सुनाइएको छ । उनीहरू प्रत्येकलाई १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । यो प्रकरणमा अझै ८ जना प्रतिवादी फरार छन् । उनीहरूको हकमा भने फैसलाको पूर्णपाठ आएपछि मात्रै थप जानकारी दिन सकिने अदालतले जनाएको छ ।
२०८२ कात्तिक २५ गते दायर भएको पूरक अभियोगपत्रका आधारमा मुद्दाको फैसला भएको हो । फैसलाको पूर्णपाठ तयार हुन भने केही समय लाग्नेछ । सुरुमा परेको जाहेरीमध्ये पाँच किस्तामा ४०० जनासँग मिलापत्र भएको थियो । त्यसपछि बाँकी ११० जनाको जाहेरीका आधारमा १५ जनाविरुद्ध अभियोगपत्र दर्ता गरिएको थियो ।
सुरुमा ५२४ जनाले सहकारी सञ्चालकविरुद्ध जाहेरी दिएका थिए । उनीहरूको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै २०८० भदौ १२ गते कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो । त्यसमध्ये ४०० जनासँग पाँच किस्तामा मिलापत्र भएको थियो । बाँकी ११० जनाको जाहेरीका आधारमा झन्डै १८ करोड रुपैयाँ बिगो माग गर्दै १५ जनाविरुद्ध पूरक अभियोगपत्र दायर गरिएको थियो ।
जिल्ला अदालतको फैसलामा चित्त नबुझे देवकुमार नेपालीले पूर्णपाठ आएपछि माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्नेछन् । फैसला कार्यान्वयनको प्रक्रिया अघि बढे सहकारीका बचतकर्ताको रकम फिर्तासम्बन्धी विषयले पनि गति लिन सक्ने देखिएको छ । नेपाली २०७४ र ७९ सालमा गरी दुईपटक बागलुङको ढोरपाटन नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

