Site icon Kaski Khabar

धर्मको सार आत्मसंयम र सत्य हो’ महेश त्रिपाठी ‘पाँच पाण्डव’लाई सेन्सर बोर्डको अनुमति

मनुस्मृतिको एक श्लोक उद्धृत गर्दै अभिनेता महेश त्रिपाठीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “धैर्य, आत्मसंयम, शुद्धता, विवेक, ज्ञान, सत्य र क्रोधमाथिको नियन्त्रण धर्मका दस लक्षण हुन् । मानिसले आफूलाई धार्मिक भन्नुअघि यी गुण आफ्नो व्यवहारमा छन् कि छैनन् भनेर हेर्नुपर्छ ।”

नेपाली चलचित्र क्षेत्रमा प्रतिभाशाली र बहुमुखी अभिनेताका रूपमा परिचित त्रिपाठीले यो अभिव्यक्ति फिल्म ‘पाँच पाण्डव’सँग सम्बन्धित आफ्नो चरित्रको तस्बिर सार्वजनिक गर्दै लेख्नुभएको हो ।

महाभारतका पात्रलाई बिम्बका रूपमा प्रस्तुत गरिएको फिल्म ‘पाँच पाण्डव’ आगामी कार्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ । तर, प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्मका केही दृश्य र प्रस्तुतीकरणलाई लिएर सामाजिक सञ्जालमा बहस र विवाद चर्किएको छ ।

विशेषगरी फिल्मको पोस्टरमा द्रौपदीका रूपमा प्रस्तुत गरिएकी इभा गिरीलाई ‘राजा चाहिया छ’ गीतमा बोल्ड अवतारमा देखाइएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको थियो । महाभारतका पात्र र धार्मिक सन्दर्भलाई प्रयोग गरिएको फिल्ममा पात्रहरूको प्रस्तुतिलाई लिएर विभिन्न टीकाटिप्पणी भएका छन् ।

फिल्मको प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा उजुरीसमेत परेको थियो । तर, केन्द्रीय चलचित्र जाँच समिति अर्थात् सेन्सर बोर्डले भने फिल्मलाई कुनै रोकटोक नगरी प्रदर्शन अनुमति दिएको छ ।

सेन्सर बोर्डले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको हो । यससँगै फिल्म प्रदर्शनको बाटो खुलेको छ ।

अभिनेता महेश त्रिपाठीको धार्मिक दर्शनसँग जोडिएको अभिव्यक्ति र फिल्मको चरित्र प्रस्तुतिलाई लिएर भइरहेको बहसका बीच ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको छ । अब फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ । फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, विनोद न्यौपाने, इभा गिरी, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेकोछ ।

Exit mobile version