Site icon Kaski Khabar

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव मङ्सिर ५ गते हुदै

लायन्स क्लब अफ पोखराले स्थापनाको ५०औँ वर्ष पूरा गरेको अवसरमा आगामी मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा स्वर्ण महोत्सव समारोह आयोजना गर्ने भएको छ ।

नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल क्षेत्रको पहिलो लायन्स क्लबका रूपमा स्थापित क्लबले आगामी मङ्सिर ५ गते पोखरामा विशेष समारोह आयोजना गरी स्वर्ण महोत्सव मनाउन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

स्वर्ण महोत्सव मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले पाँच दशकदेखि शिक्षा, स्वास्थ्य, मानवीय सहायता, सामाजिक सचेतना तथा सामुदायिक विकासका क्षेत्रमा योगदान पु¥याउँदै आएको क्लबले आफ्नो सेवायात्राको समीक्षा र अग्रजहरूको सम्मानस्वरूप स्वर्ण महोत्सव मनाउन लागेको बताउनुभयो ।

सन् १९७६ नोभेम्बर १० अर्थात् विसं २०३३ मा स्थापना भएको क्लब नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल क्षेत्रको पहिलो लायन्स क्लब रहेको बताउनुहुदै उहाँले लायन नवराज पटेल तथा उहाँको टोलीको पहलमा पोखरामा लायन्स क्लब स्थापना गर्ने अभियान सुरु भएको उल्लेख गर्नुभयो ।

प्रारम्भमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्षका रूपमा प्रस्ताव गरिए पनि शैक्षिक तथा प्रशासनिक जिम्मेवारीका कारण उहाँले नेतृत्व लिन नसकेपछि पोखराका व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबलाई औपचारिक रूपमा अगाडि बढाइएको बताउनुभयो ।

स्वर्ण महोत्सवका अवसरमा क्लब स्थापनादेखि विभिन्न समयमा नेतृत्व प्रदान गर्ने संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा समाजमा विशिष्ट योगदान पु¥याउने अग्रजहरूलाई सम्मान गरिनेछ । यसैगरी, क्लबका पाँच दशकका सामाजिक गतिविधि, उपलब्धि, ऐतिहासिक अभिलेख तथा लेख समेटिएको विशेष स्वर्ण महोत्सव स्मारिका विमोचन गर्ने कार्यक्रम रहेको छ ।

क्लबका अध्यक्ष डा. माधवबाबु तिवारीले स्वर्ण महोत्सव समारोहमा नेपालका व्यवसायिक तथा सार्वजनिक क्षेत्रका विशिष्ट व्यक्तित्व, लायन्स नेतृत्व, संस्थापक सदस्य, पूर्वअध्यक्ष, वरिष्ठ लायन्स सदस्य, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध अगुवा एवं समाजसेवीहरूको सहभागिता रहने बताउनुभयो ।

पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेका डिस्ट्रिक्ट गभर्नर प्रजापति बास्तोला र पूर्व डिस्ट्रिक्ट गभर्नर मिलन थापाले क्लबको इतिहास, सामाजिक सेवा तथा योगदानका बारेमा चर्चा गर्नुभएको थियो । क्लबका संस्थापक सदस्य मेहरमान श्रेष्ठले क्लब स्थापनाकालको पृष्ठभूमि र त्यसबेलादेखि सञ्चालन गरिएका सामाजिक गतिविधिबारे भनाइ राख्नुभएको थियो ।

समारोहमा पोखरा तथा आसपासका क्षेत्रबाट संस्थापक सदस्य, पूर्वअध्यक्ष, लायन्स नेतृत्व, विभिन्न पेसा व्यवसायका अगुवा तथा शुभेच्छुकसहित करिब एक हजार दुई सय जनाको सहभागिता रहने अपेक्षा क्लबले गरेको छ ।

 

Exit mobile version