सोमबार पोखरा महानगरपालिका–३० पावरहाउस चोकमा पृथ्वीराजमार्ग भएर चल्ने सवारी साधनका चालकलाई जाँच गर्दा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय गगनगौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा एक जना चालकले मादक पदार्थ र ६ जना चालकले लागूऔषध सेवन गरी सवारी चलाएको पाइएको कास्की प्रहरीका सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी बस चलाउने तनहुँ शुक्लागण्डकी नगरपालिका–११ का ५३ वर्षीय खिमबहादुर खत्री रहेका छन्।
त्यस्तै, लागूऔषध सेवन गरी बस चलाएको आरोपमा लमजुङ बेँसीसहर नगरपालिका–२ का ३३ वर्षीय पवन परियार, तनहुँ शुक्लागण्डकी नगरपालिका–६ का ३८ वर्षीय दीपक विक, म्याग्दे गाउँपालिका–५ का २८ वर्षीय अमृत नेपाली, भिमाद नगरपालिका–५ का २३ वर्षीय कृष्ण परियार, म्याग्दे गाउँपालिका–६ का ३० वर्षीय मनिष गुरुङ र म्याग्दे गाउँपालिका–३ का २३ वर्षीय विवेक नेपाली रहेको उनले बताए ।
प्रहरीले उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ। सार्वजनिक सवारी साधनका चालकले मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी चलाउँदा यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भएकाले प्रहरीले नियमित जाँचलाई तीव्रता दिने उनले बताए ।

