युवा सशक्तीकरण, नेतृत्व विकास, वातावरण संरक्षण तथा स्वास्थ्य चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित साइकल यात्रा उत्साहपूर्ण सहभागितामा सम्पन्न भएको छ।
जेसीज सप्ताह–२०२६ अन्तर्गत लेखनाथ जेसीज तथा लेखनाथ जुनियर जेसीजको संयुक्त आयोजनामा आइतबार आयोजित उक्त साइकल यात्राले स्वस्थ जीवनशैली अपनाउन, वातावरण संरक्षण गर्न तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्न प्रेरित गरेको छ।
पोखराको खास्टेतालबाट सुरु भएको साइकल यात्रा न्यूरेनी, दिपाङताल, मैदीताल, बेगनासताल हुँदै रुपातालसम्म पुगेको थियो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण ताल तथा आसपासका क्षेत्र समेटिएको यात्राले साइकलमार्फत स्वास्थ्य र पर्यटनलाई जोड्ने सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
‘स्वास्थ्यका लागि साइकल, पर्यटनका लागि यात्रा’ भन्ने नारासहित आयोजित कार्यक्रमले नियमित शारीरिक व्यायामको महत्त्व, वातावरणमैत्री यातायातको प्रयोग तथा पोखरा क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा योगदान पुर्याएको छ। साथै, युवामा नेतृत्व क्षमता विकास, सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना अभिवृद्धि गर्ने उद्देश्यसमेत कार्यक्रमले लिएको थियो।
कार्यक्रम सफल बनाउन सहभागी साइकल यात्री, सहयोगी संस्था, प्रायोजक, सञ्चारकर्मी तथा सम्पूर्ण शुभेच्छुकहरूले सहयोग गरेका थिए। आयोजकले सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
लेखनाथ जेसीजले जेसीज सप्ताह–२०२६ अन्तर्गत विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमले युवालाई सामाजिक गतिविधिमा सक्रिय बनाउनुका साथै स्थानीय पर्यटन र वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

