Site icon Kaski Khabar

भोलि विजया दशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत विजया दशमीको टीका भोलि कात्तिक ४ गते बुधबार लगाइँदैछ। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न देशमा बसोबास गर्ने नेपाली तथा सनातन धर्मावलम्बीहरूका लागि टीकाको साइत सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार नेपालमा २०८३ साल कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा विजया दशमीको टीका लगाउन उत्तम साइत रहेको छ।

समितिको असोज २० गते बसेको बैठकको निर्णयअनुसार विभिन्न देशमा रहेका नेपालीहरूको सुविधालाई ध्यानमा राख्दै स्थानीय समयअनुसार टीकाको साइत निर्धारण गरिएको हो। भारत, अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, क्यानडा, कतार, दक्षिण कोरिया लगायतका देशका विभिन्न सहरका लागि समेत छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको समितिले जनाएको छ।

विजया दशमी नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्रमुख पर्व हो। यस दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने, परिवारका सदस्य तथा आफन्तजनसँग भेटघाट गर्ने र आपसी सद्भाव, प्रेम तथा एकता साटासाट गर्ने परम्परा रहिआएको छ। दसैँले परिवार तथा समाजमा मेलमिलाप, भाइचारा र सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो स्थानीय समयअनुसार टीका लगाएर पर्व मनाउने तयारी गरेका छन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव श्री श्रीकेश कौशिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा विजया दशमी २०८३ को अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको छ।

कास्की खबर परिवारको तर्फबाट पनि सम्पूर्ण नेपालीमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

Exit mobile version