राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष रामचन्द्र ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्राडा. कुशुमाकर न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज ऋषिराम दाहाल, संस्थाका समन्वय प्रमुख ताराबहादुर गुरुङ विशिष्ट समाजसेवी प्रेमबहादुर राणा अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी स्याङ्जा जिल्ला अध्यक्ष, कास्की जिल्ला अध्यक्षलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संगीतकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले दसैँ, तिहारलगायत नेपाली चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो। वक्ताहरूले नेपाली गीत–संगीतको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा राष्ट्रिय संगीतकर्मी संघले खेलेको भूमिकाको प्रशंसा गर्दै कलाकारहरूको हकहित र सम्मानका लागि सबै संगीतकर्मी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।
त्यसैगरी नेपाली मौलिक कला, संस्कृति र संगीतको संरक्षण गर्दै गीत–संगीतमा देखिएका विकृति तथा विसंगतिलाई न्यूनीकरण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो। नेपाली संगीतको विकास र कलाकारहरूको क्षमता अभिवृद्धिका लागि संघले आगामी दिनमा पनि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा वक्ताहरूले जोड दिनुभएको थियो।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष लिलाराम पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पूर्ण बाग्ले ‘इतिहास’ले गर्नुभएको थियो।
कार्यक्रमले संगीतकर्मीहरूबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली मौलिक गीत–संगीतको संरक्षण तथा प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।

