Site icon Kaski Khabar

माओत्सेको फिल्मले पोखरामा पहिलो दिन कमायो साढे ७ लाख

निर्देशक माओत्से गुरुङको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा बम्पर ओपनिङ गरेको छ । भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको यो चलचित्रले पोखराका दुई प्रमुख सिनेमा हलबाट पहिलो दिनमै ७ लाख ४८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजमा गरी पहिलो दिन कुल १ हजार ९ सय ३० दर्शकले चलचित्र हेरेका छन् । पोखरा ट्रेडमलस्थित क्युएफएक्स सिनेमाजमा १ हजार २ सय ८० दर्शक सहभागी भए । त्यहाँबाट ५ लाख ५ हजार रुपैयाँ कलेक्सन भएको क्युएफएक्सका म्यानेजर पशुपति कार्कीले जानकारी दिए ।

मिडटाउन सिनेमाजमा भने ६ सय ५० दर्शकले चलचित्र हेरेको म्यानेजर संकेत द्वाले बताए । मिडटाउनमा पहिलो दिन २ लाख ४३ हजार रुपैयाँको व्यापार भएको छ । शनिबार पोखराका सबै शो हाउसफूल रहेका छन् । क्युएफएक्स र मिडटाउन दुवै हलमा ५÷५ शो राखिएका छन् । ती सबै शोका टिकट बिक्री भइसकेका छन् । श्रीकृष्ण चलचित्र मन्दिरमा शनिबार ३ शो राखिएको छ । त्यहाँ पनि दर्शकको उल्लेखनीय सहभागिता रहेको सञ्चालक केदार पराजुलीले जानकारी दिए ।

सुरुवाती व्यापार र दर्शकको साथले सिनेमा हल सञ्चालक तथा चलचित्रकर्मीमा उत्साह थपेको छ । पोखराका साथै बुटवल, दमौली, लमजुङ, चितवन र काठमाडौंको ललितपुरमा पनि चलचित्रको सुरुवात राम्रो छ ।

पहिलो दिन निर्देशक माओत्से गुरुङसँगै कलाकारहरु विश्वास गुरुङ, माया गुरुङ र डिबी गुरुङ पोखराका हलमा पुगेका थिए । उनीहरुले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । चलचित्र हेरेपछि दर्शकले आफ्नै घरपरिवार र समाजको कथा पर्दामा देखेको प्रतिक्रिया दिएका छन

चलचित्रमा कास्कीको पर्यटकीय गाउँ ताङतिङको दृश्य र प्राकृतिक सौन्दर्यलाई दर्शाइएको छ । ताङतिङको स्थानीय परिवेश, कथावस्तु, छायांकन र अभिनयलाई दर्शकले निकै रुचाएका छन् । नेपाली समाज र जीवनका भावनात्मक पक्षलाई प्रस्तुत गरिएको यो चलचित्रको माउथ पब्लिसिटी पनि निकै सकारात्मक छ । यसले देशभरको व्यापारमा थप आशा जगाएको छ ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, डिबी गुरुङ, सुनील थापा र मनिता गुरुङलगायतका कलाकारको अभिनय छ ।

Exit mobile version