कृषि विकास कार्यालय पर्वत, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वत तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, बागलुङको संयुक्त आयोजनामा आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ तथा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले मन्त्रालयबाट विनियोजित बजेटको प्रभावकारी, पारदर्शी र नतिजामुखी कार्यान्वयनमा विशेष ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो। उहाँले आगामी आर्थिक वर्षका कार्यक्रम र बजेट वास्तविक किसानको आवश्यकता र उत्पादन वृद्धि केन्द्रित हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री कार्कीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण तथा किसानको आय वृद्धि प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै कृषि तथा पशु सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पहुँचयोग्य बनाउन सबै निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्ने बताउनुभयो।
सार्वजनिक सुनुवाइमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका कार्यक्रम, बजेट कार्यान्वयनको अवस्था, उपलब्धि तथा सेवा प्रवाहबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी कृषक, जनप्रतिनिधि तथा सरोकारवालाले उठाएका जिज्ञासा र सुझावमाथि सम्बन्धित कार्यालय प्रमुखहरूले जवाफ दिएका थिए।
कार्यक्रममा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सञ्चालन गरिने प्रमुख कार्यक्रम तथा बजेटका प्राथमिकतासमेत सार्वजनिक गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कृषक, कृषि तथा पशु प्राविधिक, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

