Site icon Kaski Khabar

आज हरिशयनी एकादशी : तुलसीका बिरुवा सारिंदै

आज साउन ९ गते हरिशयनी एकादशी विविध धार्मिक अनुष्ठानसहित श्रद्धापूर्वक मनाइँदैछ।

आषाढ शुक्ल एकादशीका दिन पर्ने यो पर्वलाई ‘हरिशयनी एकादशी’ पनि भनिन्छ। यस दिनदेखि चतुर्मास अर्थात् चार महीना भगवान विष्णु क्षीरसागरमा शयन गर्न जाने विश्वास गरिन्छ। चतुर्मास शुरू भएसँगै धार्मिक व्रत, पूजा, उपवास र आत्मशुद्धिका लागि विशेष समय मानिन्छ।

आजको दिन घरघरमा तुलसीको बिरुवा रोप्ने परम्परा छ। तुलसीलाई विष्णुको प्रिय वनस्पति मानिँदै आएको छ। धार्मिक विश्वास अनुसार तुलसीको संरक्षणले घरमा समृद्धि, शान्ति र स्वास्थ्य प्राप्त हुन्छ।

व्रत बसेर, तुलसी रोपेर र भगवान विष्णुको पूजा अर्चना गरी यो एकादशी श्रद्धापूर्वक मनाउने चलन छ। मठमन्दिरहरूमा विशेष पूजा, भजनकीर्तन र प्रवचन आदि गरेर विशेष गरी हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्।

हरिशयनी एकादशीपछि शुरू हुने चतुर्मासमा साधु–सन्तहरू एकै स्थानमा वास गर्ने परम्परा छ भने विवाह, उपनयनजस्ता शुभ कार्यहरू नगर्ने नियम पनि पालना गरिन्छ।

Exit mobile version