Site icon Kaski Khabar

असारमा गण्डकीमा १९ सडक दुर्घटना, २१ जनाको मृत्यु, चालकको लापरबाहीले १३ दुर्घटना

नेपाल प्रहरी राजमार्ग सुरक्ष ट्राफिक व्यवस्थापन कार्यालय पोखराले असार महिनामा गण्डकी प्रदेशमा असार महिनामा १९ वटा सडक दुर्घटना भएको जानकारी दिएको छ । ती दुर्घटनामा २१ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन्।

मृत्यु हुनेमध्ये १६ जना पुरुष, २ जना महिला, १ बालक र २ बालिका रहेका छन्। त्यसैगरी घाइतेमध्ये ४ जना गम्भीर र १४ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा घाइते भएका १८ जनामध्ये १३ पुरुष, २ महिला, २ बालक र १ बालिका रहेका छन्।

ट्राफिक प्रहरीका अनुसार असार महिनामा भएका दुर्घटनामध्ये १३ वटा दुर्घटना चालकको लापरबाहीका कारण भएका छन्। तीमध्ये १० वटा तीव्र गति र ३ वटा मादक पदार्थ सेवनका कारण भएको नेपाल प्रहरी राजमार्ग सुरक्ष ट्राफिक व्यवस्थापन कार्यालय पोखराका सूचना अधिकारी थानेश्व चपाइले जानकारी दिए ।

त्यसैगरी २ वटा दुर्घटना सवारी साधनको प्राविधिक खराबी, २ वटा यात्रुको कारण, १ वटा सडकको अवस्थाका कारण र १ वटा मौसमको प्रभावका कारण भएको उनले जानकारी दिए । दुर्घटनामा परेका १९ जनाको उद्धार गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसैबीच, असार महिनाभर ट्राफिक प्रहरीले १ लाख ६० हजार ७ सय ९४ वटा सवारी साधनमाथि कारबाही गर्दै १४ करोड ३७ लाख ७५ हजार राजस्व संकलन गरेको जनाएको छ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि तीव्र गति नियन्त्रण, मापसे परीक्षण, जनचेतनामूलक कार्यक्रम तथा नियमित ट्राफिक निगरानीलाई थप प्रभावकारी बनाउने जनाएको छ।

Exit mobile version