Site icon Kaski Khabar

दोहोरीमा विकृति रोक्न संगीतकर्मीको अभियान

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश समितिले लोक दोहोरीका नाममा भित्रिएका विकृति, विसंगति र छाडापनलाई रोक्न विशेष अभियान सञ्चालन गर्ने भएको छ । संघको आसन्न ७औं वार्षिक साधारण सभा तथा  चाैथाेअधिवेशनको पूर्वसन्ध्यामा पोखरामा भएको एक कार्यक्रममा बोल्दै संगीतकर्मीहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकीका अध्यक्ष रामचन्द्र ढकालले गीत–संगीत कलाकारको मात्र नभएर राष्ट्रको मौलिक सम्पत्ति भएको बताए । उनले नेपाली मौलिक लोक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय दोहोरीका नाममा फोहोरी खेल भइरहेको प्रति चिन्ता व्यक्त गर्दै लोक संस्कृति बिगार्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

‘लोक संस्कृति प्रेमको प्रतीक हो, तर अहिले केही व्यक्तिले लोक परम्परालाई नै उच्छेद गरेर हिँडेको पाइएको छ,’ अध्यक्ष ढकालले भने, ‘हामीले मौलिक लोकभाका र परम्परागत बाजाको संरक्षण गर्दै संगीतलाई पर्यटनसँग जोड्ने अभियान थालेका छौं ।’ उनले कलाकारहरूले आफ्नो सिर्जनाको रोयल्टी नपाएको र रोयल्टी समाजले नै कलाकारलाई ठगिरहेको गुनासो समेत गरे । मेला–महोत्सवहरू पनि पछिल्लो समय व्यापारिक ठेक्कापट्टाको माध्यम मात्र बनेको उनको आरोप थियो ।

कार्यक्रममा अध्यक्ष ढकालले संगीतको जग बलियो बनाउन विद्यालय तहदेखि नै संगीत शिक्षकको व्यवस्था हुनुपर्ने माग राखे । खेलकुद जस्तै संगीतलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले कक्षा ८ को पाठ्यक्रममा रहेको संगीत सम्बन्धी विषय सामान्य शिक्षकले पढाउन नसक्ने दाबी गरे । संगीत शिक्षकको व्यवस्थाका लागि पोखरा महानगरपालिका शिक्षा महाशाखासँग समन्वय गरिने उनले जानकारी दिए । साथै, पोखरामा व्यवस्थित संगीत प्रशिक्षण केन्द्रको आवश्यकता उनले औंल्याए ।

सो अवसरमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय सदस्य ऋषिराम दाहाल, गण्डकीका उपाध्यक्ष लिलाराम पौडेल र कास्कीका द्वितीय उपाध्यक्ष सागर कार्की लगायतले गीत–संगीतको क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे चर्चा गरेका थिए ।
‘हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ क्रियाशील यस संस्थाले नेपाली लोक संगीत, सुगम संगीत, नृत्य, गायन, वाद्यवादन, अभिनय, लेखन तथा निर्देशनमा आबद्ध सबै कलाकारहरूलाई गोलबन्द गर्दै आएको छ ।

Exit mobile version