Site icon Kaski Khabar

पोखरामा ट्र्याक्टर जोताइको भाडा दर तोकियो, अटेर गरे कारबाही हुने

पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कृषि कार्यमा प्रयोग हुने ठुलो ट्र्याक्टर तथा हाते ट्र्याक्टर (मिनिटिलर) को भाडा दर निर्धारण गरेको छ । महानगरपालिकाको यातायात व्यवस्थापन समिति, कृषि सञ्जाल तथा सम्बद्ध सरोकारवाला निकायहरुबीच जेठ १८ गते बसेको संयुक्त बैठकले यो निर्णय गरेको हो । महानगरभित्र कृषि मेसिनरीको भाडा दरमा एकरूपता ल्याउन, कृषकहरूलाई सुलभ दरमा सेवा उपलब्ध गराउन र कृषि उत्पादन लागत घटाउने उद्देश्यले भाडा दर तोकिएको हो । यो निर्णय आजकै मितिदेखि महानगरपालिका क्षेत्रभित्र तत्काल लागु हुनेछ ।

बैठकले मिनिटिलर अर्थात् हाते ट्र्याक्टरको भाडा दर दुई किसिमले तय गरेको छ । कृषि समूह वा कृषकले आफ्नै लगानीमा खरिद गरेको मिनिटिलरको हकमा प्रति घण्टा १ हजार २० रुपैयाँ भाडा निर्धारण गरिएको छ । यसैगरी अनुदान प्राप्त यन्त्रको हकमा भने प्रति घण्टा ९ सय रुपैयाँ मात्र भाडा कायम गरिएको छ । ठुलो ट्र्याक्टरको भाडा दर भने सञ्चालन अवधिको आधारमा तय गरिएको छ । ठुलो ट्र्याक्टर ३० मिनेटभन्दा बढी सञ्चालन भएको खण्डमा प्रति घण्टा ३ हजार ४ सय रुपैयाँ भाडा तिर्नुपर्नेछ । यदि ट्र्याक्टर ३० मिनेटभन्दा कम सञ्चालन भएको खण्डमा भने प्रति मिनेट ६० रुपैयाँका दरले भाडा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले बजारमा इन्धनको मूल्यमा हुने घटबढ र फेरबदलका आधारमा उक्त भाडा दरमा नियमानुसार समयसापेक्ष समायोजन गरिने जानकारी दिएको छ । तोकिएको दरभन्दा बढी शुल्क लिएको वा कृषकहरूलाई मर्का पारेको पाइएमा प्रचलित कानुन, स्थानीय ऐन तथा नियमावली अनुसार सम्बन्धित वडा कार्यालयले तत्काल आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दा किसानलाई मर्का पर्न नदिन भाडा दरमा एकरूपता ल्याएका हौं, यसको उल्लंघन भएमा तत्काल कारबाही हुन्छ,’ आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले भने । उनले महानगरपालिका क्षेत्रभित्र कार्यरत सम्पूर्ण कृषि समूह, सहकारी, कृषि यन्त्र सञ्चालक तथा सरोकारवालाहरूलाई उक्त निर्धारित दररेट पूर्ण रूपमा पालना गरी सहयोग पुर्‍याइदिन हार्दिक आह्वान समेत गरे ।

Exit mobile version