गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा प्रकाश बराललाई जिम्मेवारी दिइएको छ ।
पोखरामा आज (मंगलबार) बसेको संसदीय दलको बैठकले बराललाई प्रमुख सचेतक नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि सचेतकको भूमिका सम्हाल्दै आएका बराललाई पदोन्नति गर्दै नयाँ जिम्मेवारी दिइएको बताइएको छ। दलका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई उक्त पदमा मनोनयन गरेका हुन् । यसअघि प्रमुख सचेतकको जिम्मेवारी नन्दप्रसाद न्यौपानेले सम्हाल्दै आएका थिए। तर उनी मन्त्री बनेपछि उक्त पद रिक्त रहँदै आएको थियो। सोही रिक्त स्थानमा बराललाई नियुक्त गरिएको हो।
मुख्यमन्त्री पाण्डेले वैशाख २ गते मन्त्रीमण्डल पुनर्गठन गरेसँगै संसदीय दलभित्र पनि जिम्मेवारी हेरफेर गरिएको हो। नयाँ प्रमुख सचेतकका रूपमा बरालले दलको आन्तरिक समन्वय, बैठक व्यवस्थापन तथा विधायन प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

