नेपाल प्रहरी गण्डकी प्रदेश २६ औँ आदर्श कपको फाइनलमा

नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा तनहुँ जिल्ला फुटबल विकास समितिको टोलीलाई १–० गोलले पराजित गर्दै प्रहरीले फाइनल यात्रा तय गरेको हो।
नेपाल प्रहरी गण्डकी प्रदेशका जर्सी नम्बर १० का खेलाडी विवेक गुरुङले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो। खेलभरि दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि थप गोल हुन सकेन ।
मंगलबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल प्रहरीका जर्सी नम्बर ४४ का खेलाडी रोजल दाहाल ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।
अब नेपाल प्रहरी गण्डकी प्रदेशको टोली माघ १६ गते हुने फाइनल खेलमा होराइजन क्लब स्याङ्जा र जिल्ला खेलकुद विकास समिति म्याग्दीबीच बुधबार हुने खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. ४ लाख ९९ हजार ९ सय ९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ३ लाख ३३ हजार ३ सय ३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।



