Site icon Kaski Khabar

कास्कीमा विद्यालयस्तरीय भलिबल प्रतियोगिता हुँदै

सूचना विकास केन्द्र, कास्कीको आयोजनामा यस वर्ष विद्यालयस्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुन लागेको हो। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगिता २०८२ साल पौष २२ गतेदेखि २४ गतेसम्मपोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ। प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक (सरकारी) विद्यालयहरूसहभागी हुन सक्ने आयोजकले जनाएको छ।

कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउने यस प्रतियोगितामा करिब ६० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलाडी उत्पादन गरी जिल्लास्तर, प्रदेशस्तर हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्नु रहेको आयोजकको भनाइ छ। प्रतियोगितामा प्रथम हुने छात्र तथा छात्रा टिमलाई १ लाख रुपैयाँ, द्वितीयलाई ५० हजार रुपैयाँ र तृतीय हुने विद्यालयलाई ३५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट छात्र र छात्रा खेलाडीलाई ५/५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ। उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्भर लगायत विधागत पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताबाट १२ लाख ५० हजार रुपैयाँ आम्दानी हुने र खर्च कटाएर बाँकी रकम सूचना विकास केन्द्रले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यमा प्रयोग गर्ने जनाएको छ। प्रतियोगितालाई भव्य र सफल बनाउन सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको भन्दै आयोजकले प्रचारप्रसारमा सहकार्य गर्न आग्रह गरेको छ।

Exit mobile version