Site icon Kaski Khabar

जुन २० देखि इटालियन सिरिए फुटबल

Soccer Football - Serie A - Juventus v U.S Sassuolo - Allianz Stadium, Turin, Italy - September 16, 2018 Juventus' Cristiano Ronaldo celebrates scoring their first goal REUTERS/Massimo Pinca

रोम – कोरोना भाइरसको महामारीका कारण रोकिएको इटालियन सिरिए फुटबल अर्को महिनादेखि सुरु हुने भएको छ। इटालीका खेलकुदमन्त्री भिनसेन्जो स्पाडाफोराले जुन २० देखि लिगका खेलहरू सुरु हुने बताएका हुन्।

कोरोना भाइरसको महामारीका कारण मार्च ९ देखि सिरिएका खेलहरू स्थगित भएका थिए। लिगमा अझै १२ चरणका खेल हुन बाँकी छ। सिरिए क्लबका खेलाडीहरूले मे पहिलो सातादेखि नै व्यक्तिगत प्रशिक्षण सुरु गरिसकेका छन्। उनीहरूले यसै सातादेखि सामूहिक प्रशिक्षण सुरु गर्नेछन्।

२० मे मा इटालियन फुटबल फेडरेसनले २० अगस्टमा सिरिए सक्ने गरी नयाँ समयसीमा निर्धारण गरेको थियो। फेडरेसनले शीर्ष तीन डिभिजनको लिगका बारेमा विभिन्न रणनीति तय गरेको थियो। यस सिजनको लिग पुनः सुरु गरेर सम्पन्न गर्ने, स्थगित गर्ने वा स्थगित गर्नुपर्ने अवस्थामा प्लेअफको समेत विकल्प तयार गरिएको बताएको थियो।

सिरिएको पुछारको टोली ब्रेस्सियाका मालिक मासिमो सेलिनोले स्थगित सिजन पुनः सुरु गर्ने कदमलाई पागलपनको निर्णय भनेर प्रतिक्रिया दिएका छन्। ‘यो खेलाडीका लागि अति नै खराब निर्णय हो’ उनले भनेका छन् ‘हामी दुई महिनाबाट अभ्यास रोकेर बसेका छौं। हप्तामा तीन खेल खेल्ने निर्णय खतरापूर्ण छ। जर्मनीको तुलनामा इटलीमा तापक्रमसमेत प्रतिकूल छ।’

सिरिएमा युभेन्ट्स ६३ अंकसहित शीर्ष स्थानमा छ । उसले लिगमा लाजियोसँग एक अंकको अग्रता लिएको छ। इन्टर मिलान ५४ अंकसहित तेस्रो स्थानमा छ। युरोपको शीर्ष पाँच लिगमध्ये प्रिमियर लिग १७ जुनदेखि सुरु गर्ने तयारी गरिएको छ। स्पेनिस ला लिगा पनि जुन ११ देखि सुरु गर्ने भएको छ। जर्मन बुन्डेसलिगा भने सुचारु हुँदा फ्रेन्च लिग वान भने रद्द गरिएको छ।

Exit mobile version