पोखरा /
एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे बिजयी भएका छन् । पोखरा सभागृहमा मंगलबार भएको मतदानबाट सुमन पुरीलाई हराउँदै थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा बिजयी भएका हुन् । प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९६ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् । महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ ।
१ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो । क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदान मार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।
पदाधिकारी ९ जना सहित १५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा निर्वाचित भएका छन् । १६३ जना निर्वाचित गर्नुपर्नेमा ६४ पदमा निर्विरोध निर्वाचित भएका थिए ।
महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् ।
अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन ९निजाम०, निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन् ।
पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार थिए । अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल ९सन्तोष०ले पुरी प्यानलबाट उम्मेदवारी दिएका थिए । अधिवेशनको उद्घाटन गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

