Site icon Kaski Khabar

गुरूकुल तथा वेद विद्याश्रम मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्ः प्रदेश प्रमुख भट्ट

पोखरा ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक विद्यामा अहिलेको पुस्ता उदासिन भएको उहाँको गुनासो छ ।

ब्रह्मचर्या आश्रम समितिद्वारा सञ्चालित महर्षि गुरुकुल वेद विद्याश्रम परिसरमा नवनिर्मित शिव पाञ्चायन मन्दिर एवं यज्ञशाला, गायत्री मन्दिर प्राण प्रतिष्ठा तथा शिव महिमाले भरिपूर्ण श्री लिङ्ग महापुराण ज्ञान यज्ञमा प्रमुख अतिथि भट्टले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो –‘गुरुकुल आशाका केन्द्र हुुन् । भरोसाका दृढ विश्वास हुुन्। संस्कार सिकाउने कर्मस्थल हुन् । मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्। यिनको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो ।’

आजको शिक्षामा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएकाले यसलाई पूर्ति गर्न नैतिक शिक्षा वा संस्कृत शिक्षालाई अनिवार्य विषयका रूपमा पाठ्यक्रमभित्र समावेश गर्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो ।

‘गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्र पनि हो । गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षा नीतिसँग जोड्न अनिवार्य छ।’ उहाँले भन्नुभयो– ‘पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत गरिएको पाठ्यक्रम अध्यापन गराएर मूूल शिक्षाको धारमा गुरुकुललाई ल्याउने सरकारको शिक्षा नीति छ । जसले गुरुकुल, गुुम्बा र मदरसालाई समेट्न प्रयास गरेको छ ।’

पञ्चदिवसीय कार्यक्रममा कलश यात्रासहित देव रथयात्रा, ज्ञान यज्ञ एवम् मन्दिर प्राण प्रतिष्ठा शुभारम्भ, महाआराती, पूर्णाहुती, दानदाता सम्मान लगायत कार्यक्रम भइरहेको छ ।

Exit mobile version