देशभर अस्थायी परिवार नियोजनका साधन अभाव

काठमाण्डौ /

देशभर अस्थायी परिवार नियोजनका साधनको अभाव भएको छ । सरकारले समयमै खरिद गर्न नसक्दा कन्डम, पिल्स, तीन महिने सङ्गिनी सुई, कपर–टी, नरप्लान्ट लगायत अस्थायी परिवार नियोजनका साधनको अभाव भएको हो ।

खरिद प्रक्रियामा ढिलाइ भएकाले कतिपय ठाउँमा अभाव देखिएको स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवा विभागको भण्डारण केन्द्रमा कन्डम, सङ्गिनी सुई, कपर–टी, नरप्लान्ट जस्ता साधनको मौज्दात सकिएको छ । यी साधनहरू सरकारले निःशुल्क वितरण गर्दै आएको छ ।

यस बेला समस्या हुनुको कारण अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) को सहयोग कटौती रहेको छ । अस्थायी साधनका लागि दातृ निकायमै भर पर्दै आएको र त्यसमा पनि यूएसएआईडीको सहयोग मुख्य रहेकाले परिवार नियोजनका साधान अभाव भएको डा. लालले बताउनुभयो ।

देशमा वार्षिक झन्डै ४० करोड रुपैयाँ बराबरको परिवार नियोजन अस्थायी साधन आवश्यक पर्ने स्वास्थ्य विभागको तथ्याङ्क छ । सबैभन्दा धेरै वार्षिक २ करोड ४८ लाख कन्डम खपत हुन्छ ।

कन्डमले यौन सम्पर्कको माध्यमबाट सर्ने रोग लाग्नबाट समेत बचाउने चिकित्सक बताउँछन् । बालबालिकाबीच जन्मान्तर राख्न वा इच्छा नभएको गर्भ रोक्न अस्थायी परिवार नियोजनको साधनको प्रयोग गर्ने गरिन्छ ।

 

Related Articles

Back to top button