Site icon Kaski Khabar

एनएसएल उपविजेता पोखरा थण्डर्सलाई घरेलु मैदानमा स्वागत

पोखरा ।

नेपाल सुपर लिग (एनएसएल)फुटबलमा उप बिजेता पोखरा थन्डर्स टिमलाई घरेलु मैदान पोखरामा स्वागत गरिएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहितको उपस्थितिमा उपविजेता टोलीलाई स्वागत तथा बधाई दिईएको हो ।

सो अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा थण्डर्सको टिमलाई बधाई दिदै अर्को संस्करणको एनएसएल पोखरामा गर्नेगरि छलफल भईरहेको जानकारी गराए । उनले अर्को संस्करणको एनएसएल फुटबल प्रतियोगीता सकेसम्म सबै र नसके केही म्याचहरु पोखरा रंगशालामा गर्नेगरि आयोजक नेपाल स्पोट्र्स एण्ड ईभेन्ट म्यानेजमेन्ट, अखिल नेपाल फुटबल संघ एन्फा, खेलकुद मन्त्री लगायतसँग कुरा भईरहेको बताए । पोखरामा प्रतियोगीता गराउनका लागि फ्लडलाईट जडान लगायतका भौतिक पुर्वाधारका विषयमा समेत महानगरले चासो लिईरहेको मेयर आचार्यको भनाई छ ।

खेलाडीहरुलाई स्वागत तथा बधाई दिनका लागि आयोजित कार्यक्रममा पोखरा थण्डर्सका प्रशिक्षक सुमन श्रेष्ठले छोटो समयको तयारीमा पनि उपविजेता बन्न सकेको बताउँदै अर्को सँस्करणमा कम्तिमा ६ महिनासम्म तयारी गर्ने सोचमा रहेको बताए । उनले पोखरा थण्डर्सले अर्को संस्करणमा विजेता बन्नका लागि केही टिमहरुसँग मैत्रीपुर्ण खेलहरु गराउनुपर्ने बताए ।

स्वागत कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरसहित खेलकुदका विभिन्न संघसंस्थामा आबद्ध प्रतिनिधि तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

गत शनिवार भएको एनएसएलको फाईनल खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीसँग २–१ गोलको हार व्यहोर्दै उपविजेता बनेको थियो । एनएसएलमा पोखराले नवयुग श्रेष्ठको कप्तानीमा खेलेको थियो भने युवा खेलाडी आयुष घलान मार्की थिए ।

एनएसएलमा उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ र उपविजेता पोखराले ३० लाख रुपैयाँ प्राप्त गरेको छ । तेस्रो संस्करणको एनएसएलमा सात टोली सहभागी थिए । पोखराले पहिलो पटक फाइनल खेलेको हो ।

Exit mobile version