काठमाडौँ /
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए ।
पार्टीको बैठकमा समेत शिक्षामन्त्रीले विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्रीले जथाभाबी बोल्ने गरेको भन्दै असन्तुष्टि व्यक्ति गरेकि थिइन्।
प्रधानमन्त्रीले नीजि विद्यालयलाई लगानी गर्न, सरकारले लगानी सुरक्षित गर्ने बताएका थिए । शिक्षामन्त्री भट्टराईले उक्त विषयमा बोलेकोमा समेत असन्तुष्टि व्यक्त गरेकी थिइन्।
उनले संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेको तर प्रधानमन्त्री त्यसका विरुद्धमा बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएकी थिइन्।
मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग समेत भेटघाट गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहँदै आएको बताएकी थिइन् । पछि पनि उनको मन्त्रालयले शिक्षकहरूलाई पटक पटक वार्ताका लागि बोलाइरहेको थियो । तर शिक्षकहरूले भने अटेर गर्दै आएका थिए ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन् ।शिक्षामन्त्री, सभामुख, प्रधानमन्त्रीसँग समेत छलफल गरे पनि निष्कर्ष ननिस्किएको अवस्थामा शिक्षामन्त्रीको राजीनामा आएको हो ।
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरुको अडान छ । आन्दोलनमा सहभागी एक शिक्षकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि शुरु हुने र यसमा पनि शिक्षकहरु समावेश नहुने जानकारी दिएका छन् ।

